५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम



कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमुना बनेको छ ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित बनेका छन् ।

प्रदेश नं ५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम जिल्लाका चार स्थानमा सञ्चालनमा छ । आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका हुन् ।

४ वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले आफूहरू उत्साहित भएको स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति सरावलका सदस्य तथा कृषक दामोदर देवकोटा बताउँछन् ।

“व्यावसायिक कृषिमा आकर्षित गर्न प्रत्येक वर्ष बजेट विनियोजन हुनेगरि पहिलो पटक कार्यक्रम सञ्चालन भएकोमा हामी कृषक उत्सहित छौं,” देवकोटाले भने ।

सरावल गाउँपालिका–२ को मगरमुडाहा, पट्खौली र अत्रहटी गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँ बाख्रापालनलाई प्रवद्र्धन गरिएको छ ।

यस कार्यक्रमबाट ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन् । यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका कृषकले व्यावसायिक रुपमै बाख्रापालन गरेका छन् ।

बाख्रापालनबाट राम्रो आम्दानी र बजारको पनि समस्या नभएकाले आधुनिक तरिकाले व्यावसायिक रुपमै बाख्रापालनलाई अघि बढाइएको किसानहरू बताउँछन् ।

स्थानीय जातको बाख्रा पाल्दै आएका यहाँका कृषकका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत उन्नत जातको बाख्रा, बोका र आधुनिक खोर निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । बाँकी २० प्रतिशत स्वयम् कृषकले नै लगानी गरेको छ ।

प्रदेश सरकारले पाँच वटा बाख्रा वितरण र आधुनिक खोरसमेत निर्माण गरिदिएपछि पट्खौलीकी कलितादेवी थारू बाख्रापालनमा उत्साहका साथ लागिरहेकी छन् ।

“प्रदेश सरकारले सहयोग गरेपछि हामीलाई निकै हौसला बढेको छ,” थारु भन्छिन्, “प्रदेश सरकार हाम्रै लागि रहेछ भन्ने अनुभव गर्न पाएका छौँ ।”

विगतमा सामान्य खोरमा एक÷दुई वटा बाख्रा पाल्दै आउनुभएकी थारूले अहिले आधुनिक खोर बनाएर बाख्राको सङ्ख्या पनि बढाउँदै लगेकी छन् ।

गत आवदेखि सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत प्रत्येक कृषकलाई सुरूमा ५वटा बाख्रा वितरण गरिएको थियो । अहिले भने यहाँका सबै कृषकको खोरभरि बाख्रा छन् ।

व्यावसायिक रुपमै बाख्रापालन गर्न थालेपछि कृषकहरूले घाँस खेती पनि सुरू गरेका छन् । “पहिला घाँस खेती गरिदैंन थियौं । बाख्रालाई घाँस खुवाउन समस्या हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ,” थारुले भनिन्, “दानामा पनि अनुदान पाएका छौँ । अब घाँस काट्ने नयाँ प्रविधिमा पनि प्रदेश सरकारले सहयोग गर्छ भन्ने आशा छ ।”

सोही स्थानकी भगवती चौधरीले खोरमा रहेका बाख्रा देखाउँदै भनिन्, “बाख्रापालनमा म नयाँ हो । यसमा निकै फाइदा रहेछ । चुलोचौकाको काम सकिएपछि दिनभरिको समय बिताउनै समस्या हुन्थ्यो, अहिले त समय पनि बितेको थाहा हुँदैन, आम्दानी पनि हुन थालेको छ,” चौधरीले भनिन् ।

कार्यक्रम कार्यान्वयन समितिले कृषकहरूलाई घाँसको बीउ, जुकाको औषधि, दाना, भ्याक्सिन सहयोग गरिरहेको समिति सदस्य देवकोटाले बताए ।

कृषकलाई थप प्रोत्साहन गर्न समितिले कृषि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र बिक्री वितरणमा सहयोग पु¥याउन सूचना केन्द्र सञ्चालनमा ल्याएको समितिले जनाएको छ ।

केन्द्रले कृषकका उपज तथा पशुपालनको अवस्थाबारे सूचना सङ्कलन गर्ने, उत्पादक र उपभोक्ताबीच समन्वय गराई किसानलाई उचित मूल्य तथा उपभोक्ताले पनि गुणस्तरीय वस्तु पाउने अवस्था सृजना गरिरहेको समितिका अध्यक्ष चेतनारायण चौधरीले बताए ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकासहित बर्दघाट नगरपालिका–१३ धनेवा, प्रतापपुर गाउँपालिका–८ पिपरपाती र रामग्राम–१५ शुक्रौलीमा यो कार्यक्रम सञ्चालनमा छ । ४ वटै स्थानमा अहिले यो कार्यक्रम प्रभावकारी र नमूनाका रूपमा रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख राममिलनप्रसाद विश्वकर्माले बताए ।

कृषि क्षेत्रको औद्योगिकीकरण, बजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरूको आयस्तर वृद्धि गर्न नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

“प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि हो, उत्पादन दोब्बर बनाउने लक्ष्यसहित हाम्रो प्रदेशका ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने गरी यो कार्यक्रम सञ्चालन गरिएको हो,” प्रवक्ता चौधरीले भने ।

स्मार्ट कृषि गाउँका रूपमा छनौट भएका गाउँमा खाद्यान्न, तरकारी, फलफूल र पशुपालनलाई जोड दिइएको छ । छनोट भएका प्रत्येक गाउँले गत आवमा ५० लाखका रुपैयाँको दरले बजेट प्राप्त गरेका थिए । रासस

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार ००:००