६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा विद्युतीकरण गर्न सवस्टेशन निर्माण शुरु



हेमन्त केसी

जाजरकोट । विद्युतीकरणका लागि तीन स्थानमा सवस्टेशन निर्माणको कार्य सुरु भएको छ । जिल्लाका सात स्थानीय तहमा सजिलो र भरपर्दो तरिकाले विद्युतीकरण गर्नका लागि सवस्टेशन बनाउन लागिएको जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए । यसअघि ३३ केभी प्रसारण लाइनबाट भेरी नगरपालिका र छेडागाड नगरपालिकामा विद्युतीकरणका लागि कुदुमा सवस्टेशन निर्माण गरिएको थियो ।

नलगाड नगरपालिका १० चौखामा वितरण केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएर काम शुरु हुन लागेको खड्काले जानकारी दिए । यो वितरण केन्द्रबाट नलगाड नगरपालिका, डोल्पाको तल्लो भाग, रुकुम पश्चिम आठबिसकोट नगरपालिकालाई विद्युतीकरण गरिनेछ । छेडागाड नगरपालिका ५ वडावनमा बन्न लागेको सवस्टेशनबाट कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिकाको केही वडा र शिवालय गाउँपालिकाको पूरै वडा विद्युतीकरण गरिनेछ ।

समाइला सवस्टेशनबाट जिल्लाको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि काम शुरु भएको छ । त्यस्तै अहिले जिल्लाका अधिकांश ठाउँमा सवस्टेशन निर्माणको कामसँगै फलामका पोल गाड्ने काम शुरु भएको छ । अघिल्लो आर्थिक वर्षमा अधुरा रहेका काम यो वर्ष पूरा गर्न लागिएको जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

यो आवमा भौतिक संरचना निर्माणको काम पूरा गरी विद्युत् प्रसारण लाइन विस्तारमा ध्यान दिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिएको निर्देशनअनुसार काम भइरहेको जाजरकोट वितरण केन्द्रका प्रमुख खड्काले जानकारी दिए । प्रमुख खड्काले भने, “मध्यपहाडी ९पुष्पलाल लोकमार्ग० राजमार्ग, जाजरकोट–डोल्पा सडकखण्ड र जाजरकोट–जुम्ला सडकखण्डको बीच भागमा पर्ने गरी लाइन र सवस्टेशन निर्माण गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार काम भएको छ ।” ११ केभी प्रसारण लाइनको दूरी २० किलोमिटरभन्दा बढी नराखी व्यवस्थापन गर्न लागिएको छ ।

पहिलो चरणमा स्टेशन निर्माणलाई प्राथमिकता दिइएको छ । जाजरकोटमा ल्याइने ३३ केभी प्रसारण लाइनको कोहलपुरदेखि सुर्खेतसम्मको लाइनमा १३२ केभी प्रसारण लाइनको काम शुरु भएको छ । सुर्खेतको सुवाकुनामा सवस्टेशन निर्माण हुने बित्तिकै जाजरकोटमा पनि १३२ केभी प्रसारण लाइन विस्तार हुनेछ । जाजरकोटमा ४०० केभी प्रसारण लाइनको लागि नलगाड नगरपालिकाको दानीपिपलमा सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरु भई मुआब्जा काम शुरु भएको छ ।

डोल्पामा विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि जाजरकोट खण्डको स्टेशन निर्माण नभई काम अगाडि नबढ्ने भएकाले जाजरकोटको चौखामा पहिलो स्टेशन निर्माण हुन जरुरी छ । जाजरकोट सदरमुकाममा दुई वर्ष अघि मात्र केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएकाले अहिले तीव्र गतीमा काम भइरहेको छ । ४१७ मेगावाट विद्युत् उत्पादनका गर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको नलगाड हाइड्रोपावर आयोजना निर्माणका लागि केन्द्रीय लाइन छिटो पु¥याउनु पहिलो प्राथमिकता रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । आयोजना निर्माणका लागि अहिले जाइकासँग छलफल भइरहेको मन्त्री बस्नेतले बताए ।

जाजरकोटका सबै स्थानमा स्टेशन निर्माण भएमा जिल्लाभरि एकै पटक विद्युत् बाल्न सकिनेछ । जाजरकोट–डोल्पा सडक, जाजरकोट–जुम्ला सडक र मध्यपहाडी लोकमार्गसमेत जाजरकोट भएर जाने भएकाले जाजरकोट जिल्लाभरि विद्युतीकरण गर्न थप सजिलो भएको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार ००:००