६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपामा ३०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण हुने




काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष शीतभण्डार निर्माण गरी जिल्लाका कृषकसँग सिधा सम्पर्कमा कृषि उपज खरीद बिक्री गर्ने योजना बनाएको छ ।

आफ्नो छैँटौँ वार्षिक साधारणसभाको अवसरमा शीतभण्डार निर्माण गरी संस्थागतरूपमा कृषि उपज खरीद बिक्री गर्ने घोषणा गरेको हो । संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईंले चालू आर्थिक वर्षबाटै संस्थाले प्रदेश सरकारको सहयोगमा बनेपामा ३०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गर्ने जानकारी दिए । उनले भने, “हामी कृषकसँग सिधा सम्पर्क गरी कृषि उपज खरीद गर्नेछौँ, शीतभण्डार स्थापनाले कृषकलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौँ ।”

कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले सहकारीले कृषिका क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा कृषि समूह निर्माण, व्यावसायिक कृषकको उत्पादनमा लाग्न सुझाव दिइन् । “कृषि क्षेत्रमा उत्पादनमूलक कार्यक्रम ल्याउनुस् प्रदेश सरकारबाट अनुदानका लागि हामी लाग्नेछौँ”, उनले भनिन् ।

नयाँ व्यवस्थापनले सम्हालेको दुई वर्षको अवधिमा संस्थाले कृषि मेला तथा प्रदर्शनी, अग्र्यानिक जिल्ला बनाउने अभियान, कृषि बजारको व्यवस्था, स्वस्थ उत्पादनको ट्रेडमार्क निर्माणजस्ता कार्य गरेको छ । संस्थाले हाल ८८ लाख शेयर पूँजी सङ्कलन, तीन करोड ५९ लाख निक्षेप सङ्कलन गरी पाँच करोड १८ लाख कर्जा लगानी गरेको संस्थाका कार्यकारी प्रमुख जयराम सिग्देलले जानकारी दिए ।

सहकारीले बनेपामा कृषि सहकारीसँगै कृषि बजारसमेत सञ्चालन गरिरहेको छ । सहकारीले कृषि उपज खरीद बिक्रीका लागि ढुवानीको साधन खरीद गर्ने, युवालाई उद्यमशील तालीम प्रदान गर्ने, लघुकर्जा प्रदान गर्ने तथा सिधा कृषकसँग कृषि उपज खरीद गर्ने, विषादीरहित तरकारी उत्पादनका कार्यक्रम निर्माण गर्ने तथा चालू आर्थिक वर्षबाटै आफ्नै नामबाट कृषि उपजको प्याकेजिङ गरी बिक्री वितरण गर्ने योजनासमेत बनाएको छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार ००:००