२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराई, मधेश समृद्धि कार्यक्रमका लागि तीन करोड




सुरुङ्गा । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिइन् । उनका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँग समन्वय गर्दै यहाँका विपन्न समुदायका लागि आवास निर्माण गरिने भएको छ भने बुद्धशान्ति गाउँपालिकामा सामुदायिक भवन, कनकाई नगरपालिकामा कोच राजवंशीको अधुरो सामुदायिक भवन निर्माणमा रकम खर्च गरिने भएको छ ।

बिर्तामोड नगरपालिका६, ७, ८ र ९ मा रहेका पछाडि परेका समुदाय र विपन्न परिवारका लागि सङ्घीय सरकारबाट ७५ लाख बजेट विनियोजन भएको छ भने अर्जुनधारा–३ मा रहेका विपन्न परिवारका लागि आवास निर्माण गर्न ६० लाख बजेट विनियोजन भएको छ । विपन्न आवास कार्यक्रम सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले १५ लाख प्रदान गर्ने र बिर्तामोड नगरपालिकाले नौ लाख प्रदान गर्ने सहमति भएको बताइएको छ ।

अर्जुनधारा नगरपालिकामा विपन्न कार्यक्रम आवासका लागि चालू आर्थिक वर्षमा ७५ लाख र बिर्तामोड नगरपालिकामा ८४ लाख खर्च हुने बताइएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिका–२ मा सामुदायिक भवन निर्माणका लागि केन्द्रीय अनुदान ३० लाख र स्थानीय तहबाट पाँच लाख गरी ३५ लाख बजेट प्राप्त भएको छ भने जगदिश्वर शिव पाञ्चायन मन्दिर बहुउपयोगी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारबाट ३० लाख बजेट विनियोजन भएको छ । यो सामुदायिक भवन गाउँपालिकाको वडा नं २ मै रहेको छ । यसका लागि गाउँपालिकाले पाँच लाख थप बजेट प्रदान गर्ने बताइएको छ ।

यता कनकाई नगरपालिका–९ मा रहेको कोच राजवंशी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारले ३० लाख बजेट विनियोजन गरेको र कनकाई नगरपालिकाले तीन लाख बजेट प्रदान गरेको प्रतिनिधिसभा सदस्य खरेलका स्वकीय सचिव लीला आचार्यले जानकारी दिइन् । आचार्यका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमका लागि सङ्घीय सरकारबाट दुई करोड २५ लाख, स्थानीय तहबाट ३७ लाख गरी दुई करोड ६२ लाख झापा क्षेत्र नं २ लाई मात्रै बजेट विनियोजन भएको हो । रासस

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार ००:००