१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले १० घर विस्थापित, २० घर जोखिममा

लेखक स्थानीय खबर/संवाददाता २८ भाद्र २०७६, शनिबार २ मिनेट पढाइ


चौतारा । बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् ।

केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छाकोठा पुरिएको थियो । पहिरोसँगै खसेको अजङ्गको ढुङ्गा घरभन्दा केही माथि अड्किएर बसेपछि भयभित हुँदै स्थानीय सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार भागेर अन्यत्र सुरक्षित ठाउँमा आश्रम लिएर बसेका छन् । अड्किएर बसेको ढुङ्गा कतिबेला खसेर क्षति पु¥याउँछ भन्ने डरले आफू पनि तातोपानी बजारमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।

पहिरोबाट विस्थापित परिवारलाई पालिकाले नै भाडा व्यहोर्ने गरी सुरक्षित ठाउँमा कोठा खोजेर बस्न अह्राएको र विपद् व्यवस्थापन समितिबाट पनि केही सहयोगको अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

त्यहाँ बसोबास गर्ने परिवार विसं २०३८ मा आएको बाढीबाटै सुकुम्वासी बनेका थिए । तातोपानी बजार क्षेत्रको सार्वजनिक जग्गामा अस्थायीरूपमा टहरामा बस्दै आएकामा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र २०७३ असार २१ को भोटेकोशी बाढीले विस्थापित भएपछि स्थानीय चौकीडाँडाको सार्वजनिक जग्गामा बस्दै आएका छन् । तर, त्यहाँ पनि सीमा प्रहरी कार्यालयको भवन बन्ने भएपछि त्यहाँबाट पनि विस्थापित हुन पुगेकाले व्यवस्थापनका लागि ३ नम्वर प्रदेश सरकारलाई पत्राचार गरिएको अध्यक्ष पौडेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पले थिलथिलो पारेको जमीनमा तातेपानीस्थित अरनिको राजमार्गबाट माथि रहेको कोदारी जाने ग्रामीण सडक खनेपछि झन् बाढी पहिरोको जोखिम बढेको वडासदस्य तेजबहादुर तामाङले बताए । रासस

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।