२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीको रेसुङ्गा नगरपालिकामा तालाबन्दी




गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले केही दिनअघि स्थानीय महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नियुक्ति दिएको प्रधानाध्यापकलाई नगरपालिकाले उक्त नियुक्ति प्रक्रिया कार्यविधिअनुसार नभएको र कार्यविधिअनुसार मिलाएर नियुक्तिका लागि पुनःप्रक्रिया अघि बढाई साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेपछि विवाद शुरु भएको हो ।

नगरकार्यपालिकाले नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाए ।

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत र कानूनसङ्गत नभएका कारण आफूले त्यसलाई मिलाएर पुनःप्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म पुरानै प्राधानाध्यापकबाट काम गर्न परिपत्र गरेको बताए । “हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भने ।

महेन्द्र नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा प्राधानाध्यापकको विषयलाई लिएर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताए । “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भने ।

महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियो । रासस

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार ००:००