१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनः दल दर्ताका लागि आह्वान




काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्यरुपमा दल दर्ता गराउन पर्नेछ ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।

राजनीतिक दलले विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्न, दर्ताका लागि भएको केन्द्रीय समितिको निर्णय, वार्षिक लेखा परीक्षण प्रतिवेदन, पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, कार्यकारिणी समितिका पदाधिकारी र सदस्यको सङ्ख्याजस्ता विषय खुलाएर निवेदन दिनुपर्ने आयोगले जनाएको छ । अहिले निर्वाचन आयोगमा दर्ता रहेको राजनीतिक दलको सङ्ख्या १३२ रहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो । उपनिर्वाचनको तयारीका क्रमममा मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्यमा आयोग अघि बढिरहेको छ । भदौको अन्तिम सातासम्ममा सम्बन्धित निर्वाचन र वडामा दाबी विरोधको कार्यक्रम सञ्चालन हुनेछ ।

दाबी विरोधको कार्यक्रममा आफ्नो नाम सच्याउनुपर्ने देखिएमा निवेदन दिएर सच्याउन सकिने, गलत नाम समावेश भएको रहेछ भने उजुरी दिन सकिने भएको हुँदा निर्वाचन आयोगले सम्पूर्ण मतदाता र आम नागरिकलाई दाबी विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन आग्रहसमेत गरेको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार ००:००