१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाको रामपुरमा खुल्यो ‘कपडा बैंक’




बेझाड । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो ।

कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तैः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्ट लगायतका तयारी कपडा राखिएको छ । रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट सङ्कलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए ।

उनका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ । कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ । गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउछन् ।

“विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौँ”, उनले भने । सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।

आपत्विपत परेका, गरीब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य सङ्घले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन् । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ । रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । रासस

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार ००:००