६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुविधाको गाडी चढ्ने रकम एम्बुलेन्स व्यवस्थापनमा




गाईघाट । उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकी छन् ।

नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न ४० लाख विनियोजन गरेको थियो । सो रकम आफ्नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले गरेकी हुन् ।

उपप्रमुख राउत भन्छिन्, “हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्, जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ ।”

पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय र अन्यत्र स्थानमा आवतजावत गर्ने धारणा उपप्रमुख राउतको रहेको छ ।

नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न ४० लाख व्यवस्था गरेकोमा १५ लाखको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव गरिएको हो । बाँकी रकम कटारी ११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने आफूले प्रस्ताव नगरपालिकामा राखेको उपप्रमुख राउत बताउछिन् । उक्त प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उपप्रमुख राउतले बताइन् ।

कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गरेकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताए । उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहनुभएको छ । कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गरे । रासस

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार ००:००