६ फाल्गुन २०८०, आइतबार | Mon Feb 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीका १५ मध्ये ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र




महोत्तरी । जिल्लाका ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका छन् । पछिल्लोपटक मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि स्थानीय तहको सङ्ख्या ११ पुगेको हो ।

भदौमा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको मटिहानी नगरपालिका क्षेत्रमा पाँच हजार २२७ घरधुरी छन् ।

जिल्लाका १५ स्थानीयतहमध्ये अब मटिहानीसहित भङ्गाहा, बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र मनराशिशवा नगरपालिका एवं महोत्तरी, सम्सी, सोनमा र पिपरा गाउँपालिकासमेत ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र भएका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलेले जनाएको छ ।

अब जिल्लाका औरही, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा गाउँपालिका मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । बाँकी स्थानीय तहमा शौचालय निर्माण र सरसफाइसम्बन्धी काम अघि बढेकाले भदौ मसान्तभित्रै जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिए ।

जिल्लाका १५ स्थानीयतहमा कूल एक लाख ११ हजार ३४ घरपरिवारमध्ये अब शौचालय नहुने घर तीन अङ्कमा झरेको छ । अब ७०० हाराहारी घरमा मात्र शौचालय बन्न बाँकी रहेका अध्यक्ष सिंह बताउछन् । जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपालसहितका अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक सङ्घसंस्थाले जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् । रासस

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ००:००