२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वपश्चिम राजमार्गः अरूणखोला पुल मर्मत गर्न पन्ध्र दिन लाग्ने




कावासोती । पूर्वपश्चिम राजमार्गअन्तरगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए ।

पुलमा थप क्षति नपुगे काम शुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताउनुभयो । पुलबाट गाडी गुडाउदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उनले बताए । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताए ।

सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रुपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि आज दुईतर्फी रुपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने कामसमेत गरिने छ । आज र भोलि डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारबाट पुल मर्मतको काम शुरु गरिने उनले बताए ।

पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इञ्जिनीयर सुवेदीले बताए । अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो ।

अरुणखोला पुल भाँचिएपछि अहिले सो क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौ लाग्ने गरेको छ । डाइभर्सनको दुवैतर्फ झण्डै पाँच पाँच किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए । आज डाइभर्सनलाई दुईतर्फि बनाउन लाग्दा यातायात धेरै रोकिएको उनले बताए । सवारीको अव्यवस्थित लाइन लागेकाले अहिले अरुणखोलाको भिड छिचोल्न सवारीलाई झण्डै तीन चार घण्टा लाग्ने अवस्था रहेको उनले बताए । रासस

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार ००:००