९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु




खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेको छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो ।

पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको अल्छेढुङ्गाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की र डिल्लीबहादुर कार्की अर्को एक टहरा हटाइएको हो ।

नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “पहिलो चरणमा टहरा मात्र हटाउन थालिएको छ”, उनले भने, “दोस्रो चरणमा घर भत्काउने तयारी गरिएको छ ।”

नगरप्रमुख रिजालका अनुसार दोस्रो चरणअन्तर्गत दिक्तेलबजारका चार घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छाडेर मात्र भौतिक संरचना बनाउन तथा घरटहरा बनाउन भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका थिए ।

नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गरिने जनाइएको छ । अटेर गर्नेलाई पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । रासस

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार ००:००