१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी




डोटी । जिल्लाको शिखर नगरपालिका ७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ ।

आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिएका हुन् । उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो ।

त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका ४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट वडाध्यक्ष र वडासचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजात, फर्निचर लगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुनसक्ने आशङ्का गरेपछि प्रहरीले मोबाइल र वडाध्यक्षको भनाइलाई आधार मानेर पक्राउ गरेको बताइएको छ । त्यस्तै गएको जेठको १४ गते राति बडीकेदार गाउँपालिका ४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरूपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताए । विप्लव समूहले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाध्यक्ष किटानी जाहेरी दिन लागिपरेका छन् ।

जिल्लामा रहेका स्थानीय तहका वडा कार्यालयमा सो पार्टीको संलग्नतामा नै आगजनी हुने गरेको निष्कर्ष निकाल्दै यहाँका जनप्रतिनिधि विप्लव समूहसँग आक्रोशित हुन थालेको स्थानीयवासी बताउँछन् । उनीहरु भन्छन्, “गलत गरेको भए कानूनी बाटो खोजौँ, जनताका संरचना जलाएर के काम ।” जिल्लामा एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिमा केही त्रास बढेको बताइएको छ । “तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिँदैन”, शिखर नगरपालिका १ का वडाध्यक्ष खडकबहादुर शाहीले भने, “आगो लाग्दै गर्ने, पक्राउ कोही नपर्ने हो भने अपराधीको मनोबल बढ्छ, गलत गर्नेलाई कानूनी सजाय हुनुपर्छ ।”

उता जिल्ला कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले भने, “शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुँदै छ, चाँडै सबै पक्राउ हुनेछन् ।” रासस

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार ००:००