२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय समायोजन गर्दै हल्दिवारी गाउँपालिका




सुरुङ्गा । विद्यार्थी सङ्ख्या कम भएको भन्दै हल्दिवारी गाउँपालिकाले पाँच आधारभूत विद्यालयलाई समायोजन गर्ने भएको छ भने दुई माविलाई स्तर कटौती गर्दै आधारभूतमा झार्ने निर्णय गरेको छ ।

हल्दिवारी ३ स्थित रामेश्वर आधारभूत विद्यालय, सोही वडाको जनता आधारभूत विद्यालय, वडा नं ५ स्थित शान्ति आधारभूत विद्यालय, वडा नं २ कै राष्ट्रिय एकता आधारभूत विद्यालय र धनुषा आधारभूत विद्यालयलाई हल्दिवारी माविमा समायोजन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

यस्तै हल्दिवारी १ स्थित सरस्वती मावि र हल्दिवारी ३ मा रहेको पञ्चायत माविमा विद्यार्थी सङ्ख्या कम भएको भन्दै स्तर कटौती गरी आधारभूत ९१–८० मा झार्ने निर्णय गरेको उपाध्यक्ष गिरीले बताए । हल्दिवारी मावि नमूना विद्यालय रहेको र अन्य विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम भएपछि उक्त निर्णय गरिएको उनले बताए ।

विद्यालय समायोजन गरिएसँगै विद्यार्थी बोक्न बसको व्यवस्था गरिएको छ । विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएपछि विद्यालय समायोजन गरिएको हो । “सामुदायिक विद्यालयको हाराहारीमा अहिले निजी विद्यालय पनि खुलेका छन्”, गिरीले भने, “अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, जुन विद्यालयले प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिन्छन् त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्छ ।”

विद्यालय समायोजन अघि शिक्षा विकास तथा समन्वय एकाईका प्रमुखसहितको टोलीले विद्यालयको अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा हल्दिवारी ३ स्थित रामेश्वर आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको सङ्ख्या सात जना रहे पनि विद्यार्थी सङ्ख्या १४ मात्रै रहेको गिरीले बताए । “विद्यालयले २३ विद्यार्थी छन् भन्यो, अनुगमन गर्दा १४ विद्यार्थी मात्रै भेटिए”, उनले भने ।

निजी स्रोतबाट ४२ शिक्षक राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन अनिवार्य र सबै विद्यालयमा कम्प्यूटर शिक्षाको व्यवस्था गरेको गाउँपालिकाले यस वर्ष गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई २६० कम्प्यूटर वितरण गर्ने भएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार ००:००