१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालपोखरामा तीन महीनापछि पुनः डुङ्गा सञ्चालन



सुशीला रेग्मी

बेझाड । पर्यटकीय सम्भावना बोकेको पाल्पा रामपुरको तालपोखरामा तीन महीनापछि पुनः डुङ्गा सञ्चालनमा आएको छ ।

मर्मतसम्भारको काम सकिएपछि पुनःडुङ्गा सञ्चालनमा आएको हो । तालपोखरा परिसरको ५५० मिटर घेराबार, तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा २०५ मिटर फलामे बार, मन्दिर परिसरमा रहेका दुई वटा पार्क निर्माण, तालको सतह सम्याउने, मूलगेट राख्ने काम सम्पन्न भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।

तालपोखरामा पर्यटकलाई लक्षित गरी सेल्फी जोन निर्माण गरिएको उनले बताए । “करीब ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भयो, अब बाँकी अझै एक करोड २५ लाख जतिको काम छ”, उनले भने ।

अहिले तालपोखरामा डुङ्गा सञ्चालन भएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । सेल्फी जोनमा फोटो खिचाउने र रमाउनेको उत्साह बढ्दो छ । रामपुर नगरपालिकाले २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा २० लाख सहयोग रकममा तालपोखराको स्तरोन्नति गरिएको हो ।

डुङ्गा सञ्चालन गरिएपछि रोजगारी शुरु भएको डुङ्गा व्यवसायी भगवान देवकोटाले बताए । तीन महीनासम्म बन्द हुँदा समय बिताउनै मुश्किल परेको उनको भनाइ छ । सरकारले एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढाटाढाका आन्तरिक पर्यटक पनि तालपोखरा हेर्र्नका लागि मात्र रामपुर भित्रिन थालेका छन् ।

कृत्रिम ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । अहिलेसम्म करीब तीन करोडको काम भइसकेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयवासीलाई रोजगारीको अवसरसमेत मिलेको छ । डुङ्गा सफारी गर्नेलाई प्रतिव्यक्ति ५० टिकट कायम गरिएको छ ।

डुङ्गाबाट दैनिक सरदर पाँच हजार रुपैयाँ आम्दानी हुने गरेको छ भने सबै खर्च कटाएर डुङ्गाबाट मासिक एक लाख ३५ हजार आम्दानी हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन् ।

पाल्पाकै पर्यटन विकासमा तालपोखराले महत्वपूर्ण भूनिका निर्वाह गर्ने विश्वास स्थानीयवासीको छ । तालपोखरामा मुलुकका पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक अवलोकन गरेर फर्कने गरेका छन् ।

सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरा अहिले हेर्दा साच्चिकै पोखराको फेवातालका रुपमा विकास हुँदै गएको पाईन्छ । अहिले तालपोखरामा दुई वटा काठको डुङ्गा सञ्चालन भइरहेको छ । पछिल्लो समयमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि दुई वटा ¥याफ्टिङ, एक वटा खुट्टाले चलाउने डुङ्गासमेत सञ्चालनमा ल्याइएको छ ।

वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने गरी तालपोखरामा डुङ्गा सञ्चालनमा ल्याइएको हो । झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

रामपुर नगरपालिका– ६ मा अवस्थित वर्षयामका बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिइने गरी तालका रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न पुगेको हो ।

तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको स्थानीवासी ओमप्रकाश रेग्मीले बताए । “झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको तालपोखराको विकास र प्रवर्द्धनमा विशेष जोड दिएका छौं”, तालपोखरा संरक्षण समितिका पूर्वअध्यक्ष देवराज देवकोटाले भने, “यसको विकास र प्रवर्द्धन गर्न सक्यौ भनें रामपुरकै पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ ।”

महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरी तालपोखराको विकास र प्रवर्द्धन गरेपछि अहिले यो पर्यटकका लागि प्रमुख गन्तव्य बनेको पूर्वअध्यक्ष देवकोटा भनाइ छ । विसं २०६६ बाट यहाँ पर्यटन प्रवर्द्धनको काम अगाडि बढाउन थालिएको हो । रासस

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार ००:००