१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जैमिनी नगरपालिकामा सडक मर्मत कोष स्थापना



बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा बाह्रै महीना सवारीसाधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला वर्ष विनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको हो ।

अघिल्ला दुई वर्ष वडामा गएको बजेट र नगरको विकास बजेटको ३० प्रतिशत सही तरिकाले प्रयोग नभएकाले कार्यविधि बनाएर खर्च गर्नेगरी कोष स्थापना गरिएको नगरप्रमुख ईन्द्रराज पौडेलले बताए ।

पौडेलले भने, “कम्तीमा ९० प्रतिशत बजेट सदुपयोग गर्न कोष बनाउनु परेको हो । चालू वर्षदेखि हरेक वडामा कम्तीमा ५ लाख रुपैयाँका दरले रकम विनियोजन गरेर नियमित मर्मत कोष बनाइएको छ ।”

कोषको रकम हिउँद, वर्षा जुनसुकै समयमा सडक बिग्रिएको अवस्थामा मर्मतका लागि खर्च हुनेछ ।

नगरपालिकाले बनाएको कार्यविधिका आधारमा आवश्यक ठहरिएको सडक वडाको सिफारिसमा नगरपालिकालेनै कामका लागि खर्च गर्नेछ ।

गत वर्ष सिधै वडामा पठाइएको मर्मत सम्भारवापतको ५० लाख रुपैयाँ अनावश्यक ठाउँमासमेत सडकमा खर्च भएपछि आर्थिक अनुशासन कायम राख्न कोष बनाइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

जैमिनी नगरपालिकाले आफ्नो दुईवर्षे कार्यकालमा गरेका कामको समीक्षा सार्वजनिकीकरण समेत गरेको छ । शून्यबाट थालेर अधिकतम सफलता पाउने प्रयास भइरहे पनि सोचेको प्रगति हुन नसकेको नगर प्रमुख पौडेलले बताए ।

नगरपालिकाले घर नभएका र सुकुम्वासीलाई घरमा बसाल्ने योजना पनि बनाएको पौडेलले जानकारी दिए ।

“सुकुम्वासीमा सूचिकृत १७ परिवारलाई चालु वर्ष आफ्नै घरमा बसाल्ने योजना छ”, उनले भने, “घरै नभएका पनि ७९ घरको पहिचान गरि सकिएको छ, उनीहरुलाई तीन वर्षभित्र घरमा राख्ने योजना छ ।”

गत वर्षबाट शुरु भएको यो कार्यक्रममा सुकुम्वासी परिवारमध्ये दुई परिवारले गत आर्थिक वर्षमा नै घर पाइसकेका छन् ।

उनीहरुलाई घडेरी खरीदका लागि १ लाख रुपैयाँ र घर बनाउनका लागि थप २ लाख प्रदान गराइएको नगर उपप्रमुख लीला रानाले बताइन् ।

नगरपालिकाले कृषि क्षेत्रको विकासमा पाँचथरी बालीलाई किसानबाट नगरपालिकाले खरीद गरेर बजारीकरण गरिदिने योजना पनि राखेको छ ।

त्यसका लागि कार्यविधि पनि बनाएर लागू गर्ने पौडेलले बताउनुभयो । अलैँची, सुन्तला, कागती, मह र कफीका लागि नगरपालिकाले बजारीकरण गरिदिने योजना बनाएको हो । रासस

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार ००:००