९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको रुद्रमतीमा झोलुङ्गे पुल उद्घाटन



रुद्रमती सफाइको २७६ औँ हप्तामा रातोपुल र कालोपुलको बीच भागमा बनेको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । प्रदेश नं ३ सरकारको २७ लाख २८ हजार रुपैयाँ बजेटबाट उक्त पुल निर्माण गरिएको हो ।

उक्त पुल नहुँदा पैदलयात्रु रातोपुल अथवा कालोपुलसम्म घुमेर वारपार गर्न बाध्य हुनुपरेको थियो । पुल निर्माणपछि बिहान–बेलुका हिँड्न चाहने र पैदलयात्रा गर्ने यात्रुलाई सुविधा पुग्ने भएको छ ।

नदी सफाइसँगै आयोजित कार्यक्रममा संघीय सांसद गगन थापा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले ज्ञानेश्वरपट्टिबाट र प्रदेशसभा सदस्य नरोत्तम वैद्य एवं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले पनेकु टोलपट्टिको भागबाट उद्घाटन गरेका थिए ।

उक्त अवसरमा ३ नं प्रदेशसभा सदस्य राधा घले, महानगरपालिका वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको पनि सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद थापाले आफ्नो क्षेत्रमा हिलो सडकमात्र नभई पुल बन्नेजस्ता विकास निर्माणका काम पनि भएको बताए । विकास निर्माणमा फराकिलो सोच लिएर अघि बढ्नुपर्नेमा थापाको जोड थियो ।

प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेश सरकारले आधा घण्टामा १ करोड रुपैयाँ बजेट राख्ने योजनाको नाम माग्दा आफूले वडाध्यक्षहरुसँग सल्लाह गरी पुलको योजना दिएको जानकारी दिए ।

राजधानीमै भए पनि रुद्रमतीको यो भागमा पुल नहुँदा स्थानीयवासीलाई वारपार गर्न समस्या हुँदै आएको थियो ।

प्रदेशसभा सदस्य घले, वडाध्यक्षत्रय कार्की, डङ्गोल र श्रेष्ठले विकास निर्माणमा सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । पुलको नाम रुद्र पनेकु राखिएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ००:००