९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो



राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ ।

मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए ।

“बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन,” मगरले भने, “अरू काम मौसमले गर्न दिएन ।” उहाँले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाउनुभयो ।

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरू भने तयारी अवस्थामा राखिएको छ ।

यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकाम कुश्मा बजार क्षेत्रको ४ किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब २ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन् । दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ००:००