६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोज तथा उद्धारका सामग्रीसहित १५ हजार सेना परिचालित



काठमाडौं । नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५ हजार फौज परिचालन भएको जनाएको छ ।

परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण लगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

सेनाले शनिबारदेखि हालसम्म बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा ४९५ जनाको सकुशल उद्धार गरेको छ भने बाढीरपहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिको खोजकार्यलाई जारी राखेको छ ।

इलाम, धनकुटा, तेह्रथुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पामा खटिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सञ्चालन गर्ने कार्य भइरहेको छ ।

यसैगरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर र काठमाडौंमा सेनाले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण कार्यमा सहयोग पु¥याइरहेको छ ।

सप्तरीमा सेनाले ८५ घरपरिवारलाई खाद्यान्न लगायतका राहत सामग्रीहरु वितरण गर्नाका साथै उदयपुरमा मेडिकल क्याम्प खडा गरी स्थानीयवासीलाई उपचारको प्रबन्ध गरेको छ भने बाढीबाट सिराहास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्यूनीकरण गर्न फौज खटिएको विज्ञप्तिमा उल्लेख छ ।

सेनासँग भएका विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडौंमा हेलिकोप्टर तयारी अवस्थामा रहनाको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

साथै गृह मन्त्रालयबाट बाढी र पहिरो प्रभावित इलाकामा पठाउन तयार गरिएका पाल लगायतका अन्य राहत सामग्रीहरु सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००