८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः दुई वडा कार्यालय भवन निर्माण सम्पन्न



दमौली । तनहुँको व्यास नगरपालिकाका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने नीतिअनुरुप चालू आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् भने दुई वडा कार्यालयको भवन निर्माण भइरहेका छन् । नगरपालिकाले गत वर्षमा प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रममा सबै वडामा सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य रहेको थियो ।

चौध वडामध्ये चालू आर्थिक वर्षमा व्यास नगरपालिकाको ४ र १० वडाको भवन निर्माण सम्पन्न भएको छ । वडा नं ५ र ७ को भवन निर्माण कार्य भइरहेको छ । निर्माण सम्पन्न भएको वडाबाट साउनदेखि सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिका ४ को भवन ६० लाखको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिए । वडा कार्यालय भवन वरपर पर्खाल लगाउन वडा कार्यालयले १० लाख बजेट विनियोजन गरेको छ । व्यास नगरपालिका १० को वडा कार्यालय भवन पनि निर्माण सम्पन्न भएको छ । ४६ लाखको लागतमा निर्माण भएको भवनमा अध्यक्ष र सचिवको कार्यकक्ष, सभाहल, सोधपुछ कक्ष र सेवाग्राही बस्ने कक्ष रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

व्यास नगरपालिका ५ कन्टारमा ४१ लाख ४७ हजार ९०० को लागतमा छ कोठे नयाँ भवन निर्माण भइरहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । वडा नं ७ को वडा कार्यालय भवनको काम ४० प्रतिशत सकिएको छ । वडाध्यक्ष शतिश न्यौपानेका अनुसार ५२ लाखको लागतमा आगामी मङ्सिरसम्म भवन निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

व्यास नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नं १ र ९ को वडा कार्यालय भवन निर्माण गर्ने जनाएको छ । नगरपालिकाका अन्य वडा कार्यालय भने साविकको गाउँ विकास समितिको भवनमा सञ्चालनमा छ ।

आधारभूत स्वास्थ्य केन्द्र स्थापना

व्यास नगरपालिका–४ सिमलटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने नेपाल सरकारको नीतिबमोजिम व्यास नगरपालिकामा पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको हो ।

स्थानीयवासीको घर भाडामा लिएर सञ्चालन गरिएको स्वास्थ्य केन्द्रमा सेवा प्रवाह शुरु भएको छ । वडाध्यक्ष विश्वराज न्यौपानेले सरकारको नीतिबमोजिम नगरपालिकामा पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएकाले स्वास्थ्यकर्मीले गम्भीर भएर जनतालाई सेवा प्रवाह गर्नुपर्ने बताए ।

स्वास्थ्य केन्द्रमा एक अहेव र एक अनमी खटाइएको छ । स्वास्थ्य केन्द्रबाट सामान्य जाँच, परिवार नियोजन परामर्श, खोप सेवा, गर्भवती जाँच, चोटपटक लागेमा अस्पताल जानु अगाडिको पूर्वप्राथमिक उपचार सेवा प्रदान गरिने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको वडा नं १ को चारकुने, २ को वडा कार्यालय, ५ को वडा कार्यालय, ७ को पाथ्रा र १० को दुम्सीमा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको छ । व्यास नगरपालिका १ र २ मा हेल्थ असिसेन्ट र स्टाफ नर्स तथा ४, ५, ७ र १० मा अहेब र अनमी कर्मचारी खटाइनेछ । “सात हजारभन्दा बढी जनसङ्ख्या भएको वडालाई ‘क’ र सोभन्दा कम जनसङ्ख्या भएको वडालाई ‘ख’ श्रेणीमा विभाजन गरी कर्मचारी खटनपटन गरिएको छ”, न्यौपानेले भने । ‘क’ श्रेणीको स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र स्थापना गरिनेछ ।

तत्कालका लागि वैकल्पिक व्यवस्था गरी सञ्चालन हुने वडा केन्द्रको भवन निर्माणका लागि ‘क’ श्रेणीका लागि ६३ लाख ४६ हजार र ‘ख’ श्रेणीका लागि ३८ लाख ८६ हजार सङ्घीय सरकारले उपलब्ध गराउनेछ । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००