१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानकी गाउँपालिकाः फेरिए हिलाम्ये सडकका अवस्था



काशीराम शर्मा

असार २६, बाँके । स्थानीय तहको निर्वाचनपछि बाँकेको जानकी गाउँपालिकाका हिलाम्ये सडकहरुको अवस्था फेरिएका छन् । सडकहरु स्तरोन्नति गरिएका छन् । हिलाम्ये र धुलाम्ये हुने सडकहरु स्तरोन्नति गरिएपछि आवतजावत सहज हुँदै गएको छ ।

सडकहरुको स्तरोन्नतिसँगै धेरै नयाँ सडक बनेका छन् । केही सडक र नाला निर्माणकै क्रममा छन् । यो आर्थिक वर्ष सकिनै लाग्दा बाँकी रहेका सडक निर्माणका कामहरु आगामी आर्थिक वर्षमा पूरा गरिने गाउँपालिकाले जनाएको छ । बीस वर्षदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा विकासका काम ठप्प थिए । निर्वाचनका बेला घरदैलोमा पुग्ने उम्मेदवारहरुसमक्ष सबैभन्दा बढी माग सडककै आएको थियो ।

बीस वर्षदेखि जनताले साँचेका विकासका सपनाहरु पूरा गर्नु जनप्रतिनिधिलाई कम चुनौतिपूर्ण थिएनन् । वर्षाको समयमा स्थानीय तहको निर्वाचन भएको थियो । वर्षाले हिलाम्ये सडक टेक्दै उम्मेदवारहरु घरदैलो पुगेका बखत मतदाताले निर्वाचित भए सडकलाई नै प्राथमिकतामा राख्न आग्रह गर्दथे । अहिले धुलो उडेर सास्ती दिने तथा वर्षामा हिड्नै नमिल्ने सडक फेरिएको गुरुवागाउँका स्थानीयवासी भगवान्शरण यादव बताउछन् ।

“गाउँका बाटा फेरिएका छन्, अब वर्षात्मा हिलाम्ये सडक कुचल्नुपर्ने बाध्यता हटेको छ,” आफ्नो गाउँमा पक्की सडक बनेकामा खुशी देखिएका यादवले भने– ‘वर्षात्मा हिलाम्ये सडकका कारण साइकल काँधमा राखेर हिँड्नु पर्ने अवस्था अब अन्त्य भएको छ ।” नयाँ व्यवस्था, सीमित बजेट र असीमित अपेक्षाको संयोजन गर्दै गाउँपालिकाले दुई वर्षमा गाउँपालिकाका धेरै सडकहरुको स्तर सुधारिसकेको छ ।

पालिकाले दुई वर्ष बजेटको ठूलो हिस्सा सडक ग्राभेल र पिसिसीका लागि खर्चेको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताइन् । “जनताको चाहना बमोजिम ७० प्रतिशत भन्दा बढी सडकहरु स्तरोन्नति भएका छन्,” उनी भन्छिन् । गाउँपालिकाका उपाध्यक्ष धिताल निर्वाचनकै बेला उठेका सडकका मागहरुलाई गाउँपालिकाले सम्बोधन गरेको बताइन् ।

गाउँपालिकाले माटो पटान, ग्राभेल र पक्की बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेकाले पालकाभित्रका सडकहरुको अवस्था फेरिएको हो । गाउँपालिकाले मात्रै होइन वडाहरुले पनि सडक स्तरोन्नतिका काम गरेका छन् । बेलहरी, राँझा विमानस्थल, नेपालगञ्जको धम्बोझी हुँदै खजुराखुर्द तीनैतिरबाट सडक पहुँचको सरल केन्द्रका रुपमा जानकी विकसित भइरहेको छ । नेपालगञ्ज विमानस्थल नजीकै पिप्रहवादेखि भारतीय सिमानासम्म जोडिएको जानकीले नेपालगञ्जलाई अङ्गालो मारेको छ ।

बेलहरी, साइगाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द र गनापुरलाई एकीकृत गरी बनाइएको जानकी गाउँपालिका सोझै भारतीय नाकासँग पनि जोडिएको छ । अठार हजार मतदाता रहेको जानकीमा ३७ हजार ८३९ जनसङ्ख्या छ । जानकीले ६३.३२ वर्गकिलोमिटर भू–भाग ओगटेको छ भने खजुरा र कोहलपुर समेतलाई सम्पर्क स्रोत बनाएको छ । गाउँपालिकाकालाई सुगम बनाउन पहिलो आवश्यक पूर्वाधार सडक नै हो । जानकीको बढी जोड पनि सडकमै देखिएको छ ।

“चालु आर्थिक वर्षमा धेरै सडक बनेका छन् भने केही अझै बन्ने क्रममा छन्,” उपाध्यक्ष धितालले भनिन् । जानकी गाउँपालिकाको वडा नं १ मा विभिन्न बाटाहरुका लागि आव २०७५÷७६ मा २ लाखदेखि ११ लाखसम्मको बजेट सडक स्तरोन्नतिका लागि छुट्याइएको थियो । वडा नं १ को शिवपुरीमा पक्की नाली तथा पिसिसी सडकको काम भएको छ । वडा नं १ को बढैया, साइगाउँ, पचपोखरी, जोगागाउँमा नाली तथा सडक पिसिसीको काम भैरहेको हो ।

वडा नं १ मा मात्रै एक दर्जनभन्दा बढी सडकका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । “नेपालगञ्ज आउने जाने गाउँका भित्री बाटाहरु वर्षात्मा हिँड्न सकिने हुन्थेनन्,” जानकी गाउँपालिका–१ का स्थानीयवासी रुस्तम दर्जी भन्छन्, “जनप्रतिनिधि आएपछि गाउँमा सडक पूर्वाधारको काम धमाधम भैरहेका छ ।” सडकको स्तर हेरेर पनि विकास र समृद्धिको मापन हुने रहेछ, विकासको पहिलो मापदण्ड सडक भएकाले पनि अहिले स्थानीय सरकारहरु सडकमा बढी लगानी गर्न खोजिरहेको बताउछिन् उपाध्यक्ष धिताल ।

वडा नं २ को बेलभार, बाबाकुटी, भुजंगपुर, चौधरीपुर, बनकटवा, साहुपुर, जंगलीबाबा, भैयापुर, बकोटिया, नेवाजीगाउँमा पनि एक दर्जनभन्दा बढी सडक स्तरोन्नति र नाला निर्माण भएका छन् । वडा नं २ मा पनि एउटै सडकको स्तरोन्नतिका लागि ११ लाखसम्म खर्च गरिएको छ । वडा नं ३ मा दुई दर्जनभन्दा बढी सडक स्नरोन्नतिका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो जसमध्ये धेरै सडक र नाला बनिसकेका छन् ।

“पालिकाका कतिपय ठाउँमा अझै पनि काम जारी छ,” उपाध्यक्ष धितालले भनिन् । वडा नं ३ को करमोहना, इन्द्रगाउँ, बन्जारेगाउँ, कालिकापुर, मोतीपुर, रमवापुर, जुगुल भरिया, मानपुर, पासीपुरमा सडक ग्राभेल, नाली निर्माण, माटो पटान, आरबिसी ढलान गरी स्तरीय बाटो बनेका छन् । वडा नं ४ को ठूलो खजुरा, अमृतपुर, सानो खजुरा, मैनेजपुर, सहादतपुर, गिजरा, लैनयापुर, खजुराखुर्दमा पनि बाटो बनेका छन् जसमध्ये एउटै बाटोलाई पनि १९ लाखसम्म खर्च गरिएको छ ।

वडा नं ५ को बकसपुर, बनियागाउँ, गुरुवागाउँ, बेलहरी, बढियागाउँका सडक स्तरोन्नति भएका छन् । नाला निर्माण हुँदैछ । यहाँ एउटा बाटोका लागि १३ लाख रुपैयाँ गाउँपालिकाले खर्च गरेको छ । वडा नं ६ को कोठारपुर, भाटनपूरवा, कैरातीपुर, चमारपुर, कपासी, डिठापुर, पिपरहवामा पनि सडक स्तरोन्नति भएको छ । जानकी गाउँपालिकाले ३१ करोड १७ लाख बजेट चालु आवका लागि पारित गरेको थियो ।

जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मो. रजन राईले जानकीका सडक फेरिएको बताए । आव २०७५÷७६ मा वडाले पाएको २१ वटा योजनामा अधिकाँश पूरा भइरहेको अध्यक्ष राईको भनाइ थियो । “सकिन बाँकी एक दुई वटा योजनामा काम भैरहेको छ,” वडाध्यक्ष राईले भने । वडा नं १ ले पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ५ लाख रुपैयाँ गाउँपालिकाबाट पाएको थियो ।

आव २०७५÷७६ मा वडा न २ ले ९७ लाख ७१ हजार र वडा नं ३ ले पूर्वाधार विकासका लागि एक करोड २२ लाख २५ हजार प्राप्त गरेका थिए । त्यस्तै, वडा नं ४ ले ८९ लाख ८ हजार ७९० र वडा नं ६ ले १ करोड ५२ लाख पाएका थिए । रासस

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार ००:००