१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरसरकार सरकारबीच समन्वय हुनु पर्नेमा जोड



असार १६, काठमाडौं । स्थानीय तह सक्षम भएर पनि काम नगर्ने प्रवृत्तिका कारण विकृति मौलाउँदै गएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

विकास पत्रकार मञ्च नेपालले यहाँ आज आयोजना गरेको ‘स्थानीय सरकार कति सक्षम’ विषयक गोष्ठीमा सहभागीले स्थानीय तह आफैँ समक्ष भएर पनि तिनले पाएका अधिकारसमेत सदुपयोग नगर्दा विकृति बढ्दै गएको बताएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले स्थानीय तहमा विकासको नाममा अर्बौं रकम खर्च भए पनि त्यसको सदुपयोग नभएको बताए । उनले स्थानीय तहमा जनप्रतिनिधिपिच्छे कार्यक्रम सञ्चालन गर्दा विकास निर्माणमा समस्या परेको भन्दै तीनले सङ्घ र प्रदेशसँग समन्वय गरेर मात्र योजना अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले अझै पनि सङ्घीय र स्थानीय तहको कानूनमा केही समस्या आएकाले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरेर ती समस्या निराकरण गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले ‘स्थानीय सरकार मामिलामा पत्रकारिताः विषयवस्तुको पहिचान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहका विकृति र विसङ्गति तथा तिनले लुकाउन खोजेका विषयवस्तु, शक्तिको दुरुपयोग र संरचनागत मनपरीलाई पत्रकारले उठाउनुपर्ने बताए ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापाले स्थानीय तहमा बजेट छर्ने प्रवृत्तिले विकासलाई अगाडि बढाउन नसक्ने बताए । उनले स्थानीय सरकारका गतिविधिलाई पत्रकारले नियालिरहनुपर्ने सुझाव दिए ।

उक्त मन्त्रालयका पूर्वसहसचिव पुरुषोत्तम नेपालले ‘स्थानीय सरकारको वित्तीय अवस्था’बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहले बजेट जथाभावी बनाउने गरेकाले तिनलाई बजेटका सम्बन्धमा प्रशिक्षण दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल सहभागितामूलक कार्य समूहका अध्यक्ष चेतनाथ कँडेलले नयाँ बजेट आउने समयमा मात्र खर्च गर्ने पद्दति पुरानै भएकाले यसमा सुधार गर्नुपर्नेमा जोड दिए । पूर्वसहसचिव वसन्तराज गौतमले ‘स्थानीय सरकारको सुशासन’बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएकाले यसलाई रोक्नुपर्ने बताए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटा र नेपाल गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक विमल पोखरेलले संविधानको मर्मअनुसार नै स्थानीय सरकारले काम गरिरहेको भन्दै विकास निर्माणका कामका देखापरेका कानूनी जटिलता फुकाउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ००:००