७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण’




असार ५, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा स्पष्ट मार्ग निर्देश गरेको बताएका छन् ।

प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आगामी आवका लागि प्रस्तुत गरिएको आर्थिक विधेयकको सैद्धान्तिक पक्षमाथिको दफावार छलफलका लागि उनले आज प्रस्ताव राखेका थिए । मन्त्री ढुङ्गेलले प्रदेश सरकारले गत आवमा प्रस्तुत गरेको बजेटमा आवश्यक ऐन कानूनले तोकेको अधिकार र कार्य क्षेत्रको अभावले गर्दा समयभित्र राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधार र सडक सञ्जाल निर्माणका लागि विनियोजन गरिएको बजेट करीब १५ प्रतिशत मात्रै खर्च भएको जानकारी दिए । आगामी आवका योजना विगतका अनुभवका आधारमा सम्पन्न गरिने उनको भनाइ थियो ।

आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आवको बजेटको सैद्धान्तिक पक्षमा प्रदेशसभाका सदस्यहरुले छलफलमा सहभागी हुँदै बजेटले प्रदेशका जनताको लागि स्वरोजगार उपलब्ध गराउन र भौतिक पूर्वाधार निर्माण गर्दा उनीहरुकै साझेदारीमा योजना सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले स्थानीय तहले सर्वसाधरणसँग लिँदै आएको दोहोरो कर हटाउन प्रदेश सरकारले निर्देशिका जारी गर्नुपर्ने सल्लाह दिएका थिए ।

छलफलमा प्रदेशसभा सदस्यहरु राधा घले, पशुपति चौलागार्इं, नरोत्तम वैद्य, सरस्वती बस्नेत, जीवन डङ्गोल, मैना अच्छामी, निमा लामा, सरेश नेपाल, सुरेन्द्रराज गोरसाई, एकनाथ दाहाल, केशवराज पाण्डे, जगतबहादुर सिम्खडा, रमेश पौडेल, हिमनाथ खतिवडा, बद्रीप्रसाद मैनाली, जुनेली श्रेष्ठ, रमा आलेमगर, रामकुमारी पुन, देवकी श्रेष्ठ, देवराज सञ्जेल, शान्तिप्रसाद पौडेल, केशवप्रसाद पौडेल र आशमाया तामाङ सहभागी थिए ।

प्रदेशसभाका उप–सभामुख राधिका तामाङका अनुसार अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ । रासस

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००