१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न नपाउनेः मन्त्री पण्डित




असार ५, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताएका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले भने, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।”

मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गरे ।

उनले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले यहाँका स्थानीय तह र विदेशका स्थानीय तहको सेवा सञ्चालनको अभ्यासबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको जानकारी दिए ।

उनले सम्मेलनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भएको नीतिगत व्यवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल हुने बताए । सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा जापान, भारतबाट आएका स्थानीय तहका विज्ञले समेत आफ्नो अनुभव साटसाट गर्ने प्रतिष्ठानका व्यवस्थापक अधिकृत योगमाया सापकोटाले जानकारी दिए । सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००