७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशी नदीमा निर्माणाधीन पुलको फाउण्डेसन मात्र तयार



असार ४, खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते ठेक्का लागेर २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएकामा २०७५ चैतमै सम्पन्न गर्नुपर्ने समय सकिएको छ ।

फोक्सिङटारमा निर्माणाधीन पुल सम्पन्न गर्नुपर्ने समय सकिएको डेढ महीना बित्दा करीब ३० प्रतिशत मात्र काम भएको पाइएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र नं १ का आयोजना प्रमुख कैलाश साहले बताए । आयोजना प्रमुख साहका अनुसार शुरुमा विसं २०७३ चैत २४ गतेसम्ममा पूरा गर्ने गरी ‘ससपेन्सन ब्रिज’ निर्माण गर्न विसं २०६९ चैत २३ गते ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको हो ।

करीब १९ करोड ६० लाखमा पूरा गर्ने गरी ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको ‘आर्क’ डिजाइनको पुल निर्माणको काममा चरम ढिलासुस्ती देखिएको जिल्लावासीको गुनासो छ । हाल ढिलासुस्तीको कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ ।

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार खोटाङ र पूर्वी शहर जोड्ने प्रमुख नाका हो । तर, जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामपछिको अर्को महत्वपूर्ण फोक्सिङटार पुल निर्माणमा कामको गति अत्यन्तै सुस्त देखिएको छ ।

डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । तर, पुलको नयाँ डिजाइन स्वीकृत भएयताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीयवासी बताउँछन् । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण शुरु गरिएको सडक विभागले जनाएको छ । बाढीका कारण पुल निर्माणको काम हरेक वर्षात्को समयमा करीब चार महीना रोकिने गरेको छ ।

ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारवाही गर्न माग गरेका थिए । शुरुका समयमा ढिलासुस्ती गरेको ठेकेदारले पछिल्लो समय पुलको कामलाई गति दिएको स्थानीयवासीले बताएका छन् । रासस

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ००:००