१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु




असार ३, लमही । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो ।

राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक शिक्षाको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा सल्लाहकार शर्माले सरकारले एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुरुप राजपुरमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको बताए । यस वर्षदेखि कक्षा ९ बाट पशु प्राविधिक शुरु भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरीले बताए । यसलाई वर्षेनी निरन्तरता दिँदै कक्षा १२ सम्म पशु विज्ञान पढाउने उनको भनाइ छ ।

उक्त विद्यायल गाउँपालिकाको एक मात्रै १०ं२ सञ्चालन गर्ने विद्यालय भएकाले उक्त विद्यालयमा पशु विज्ञान पढाइ शुरु हुनु समग्र राजपुरका लागि ठूलो सफलता भएको समेत उनको भनाइ छ । “यस गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षालय थिएनन्”, उनले भने, “तर अहिले हामीले सञ्चालनमा ल्याएका छौँ, यो राजपुर गाउँपालिकाका लागि ठूलो सफलताको विषय हो ।”

प्राविधिक शिक्षा सञ्चालनमा आएपछि विद्यार्थी पनि खुशी भएका छन् । “यसअघि प्राविधिक शिक्षा पढ्नका लागि कि त लमही कि घोराही जानुपथ्र्यो”,’ छात्र सञ्वत यादवले भने, “अब भने गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भयो ।” शुरुआतमा ३६ छात्र र १९ छात्रा गरी ४५ ले पशु विज्ञान अध्ययन गर्न पाउने विद्यालयकी प्राविधिक संयोजक सन्तोषी चौधरीले बताइन् । विसं २०६७ मा उक्त विद्यालयले १०ं२ सञ्चालनमा ल्याएको थियो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य शर्माले उक्त प्राविधिक शिक्षाको विकासका लागि प्रदेशबाट पहल थाल्ने प्रतिबद्धता जनाए ।

‘पशुलाई झारफुक गरिन्छ’

राजपुर गाउँपालिकामा यादव र चौधरी समुदायको बाहुल्य छ । यहाँ प्रत्येक घरमा दुईदेखि ५० ६० सम्म भैँसीपालन गर्ने गरिन्छ । सोही क्षेत्र भैँसीपालनका लागि पनि पकेट क्षेत्र मानिन्छ । तर कुनै कारणवश भैँसी बिरामी परेमा भैँसीलाई झारफुक गर्ने चलन छ । केही महीनाअघि मात्रै राजपुरमा भैँसीमा भ्यागुते रोग देखियो ।

त्यतिबेला पनि झारफुककै भरपर्दा त्यहाँका करीब ३० भैँसी मरेका थिए । “भैँसीमा भ्यागुते रहेछ, यहाँका नागरिकले रोग देखापरेपछि झारफुक गर्न थाले” स्थानीय बुद्धिजीवी बिन्तुराम यादवले भने, “त्यसैले ३० भन्दा बढी भैँसी मरे ।” यहाँ पशु प्राविधिकसम्बन्धी ज्ञान नहुँदा पशुमा जुनकुनै रोग लाग्दा पनि यसरी नै झारफुक गर्ने गरेको उनको भनाइ थियो । तर अब पशु विज्ञान सञ्चालनमा आएपछि भने यो समस्या अन्त्य हुने उनको विश्वास थियो ।

पशु बिरामी परे पनि त्यसका लागि कि त गढवाबजार कि लमही बजार जानुपर्ने अवस्था छ, यसले गर्दा पनि समस्या हुने गरेको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीले बताए । “नजिकमा पशु प्राविधिक हुँदैनथिए”, उनले भने, “त्यसैले यहाँका किसान झारफुकमा भर पर्ने गरेका थिए ।” राजपुरमा उत्पादन भएको दूध दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका बजारमा जाने गरेको छ । रासस

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार ००:००