जमुना गजुरेल
असार २, विदुर । गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना मौलिकता झल्किने घर अहिलै कतै पनि भेटिन्न ।
भूकम्प जानुभन्दा पहिले गाउँघरतिर खरले छाएका, ढुङ्गाका गारा, काठका ढोका, आँखी झ्याल भएका घर हुन्थे । पिँढी जाँतोढिकी हुन्थे । पुर्ख्यौली घर माटो र ढुङ्गाले बनेका तीनतले हुन्थे । घुमाउरो बार्दली, काठका भ¥याङ र बुइँगल हुन्थे । रातो माटोले पोतिएको घरमा लामो फराकिलो पिँढी र भित्र मझेरीमा ओदान राखिएको हुन्थ्यो ।
बुइँगलमा किसानका अन्नबाली भकारीमा सुरक्षित राखिन्थ्यो । असारपछिका धान, भदौको नयाँ मकै, गहुँ, तोरी, बदाम, मास, भटमास, गहत, आलुलगायत अन्न बुइँगलमा लगेर राखिने चलन थियो । पिँढीमा बस्नका लागि चारपाटे बुट्टा भरिएको फलैंचा, सुकुल, गुन्द्री, राडीलगायत राखेर पाहुना, छिमेकी, साथीभाइलगायत इष्टमित्रको स्वागत गरिन्थो । आजकल ती सबै पुराना पुख्र्यौली घर र सामान इतिहासमा मात्रै पढ्न पाइने भएको छ ।
नयाँ घर बनाउन सरकारले अनुदान दियो तर भूकम्प प्रतिरोधात्मक घर बनाइँरहदा नेपाली संस्कृतिलाई प्राथमिकतामा नराखिएको साबिकको बुधसिं गाविस–३ हाल तारकेश्वर गाउँपालिका–४ का स्थानीय ६० वर्षीय झङ्कबहादुर बस्ती बताउछन् । “ गाउँ ठाउँ झल्किने घर र बस्तीलाई गाउँकै पुरानो शैलीमा लानुपर्छ । बाटो, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत कुरालाई प्राथमिकतामा राखेर गाउँलाई गाउँकै तरिकाले विकास गर्नुपर्छ”, उनले भने, “भूकम्पपछि हामीले पनि नयाँ घर निर्माण गर्दा पुरानै शैलीमा बलियो र भूकम्पबाट नभत्किने बनाउनुपर्ने थियो तर ख्याल गरेनौ । त्यतिखेरको समयमा कसरी हुन्छ बास बनाउने र सुरक्षित भएर परिवार राख्ने भन्ने मात्र चिन्ता थियो । आज आएर न पुनःनिर्माणमा ध्यान सकियो न त पुरानो शैलीमा लान नै ।”
बस्तीका अनुसार दुईकोठे भए पनि मानिसहरुले सिमेन्टले पोतेर सरकारी भवन या विद्यालय जसरी नै घर बनाएका छन् । “ छाना, इँटा या त टायलमा बुट्टा राख्न सकिन्थ्यो, झ्यालहरुमा आँखी बनाएर जोड्न सकिन्थ्यो, धुरीलाई बुइँगल जस्तै धुरो बनाउन सकिने थियो । अब त सम्झनामा मात्र सीमित भयो”, उनले भने ।
सोही गाउँका सन्तबहादुर विक पहिला पहिला भूकम्पले नभत्काउँदासम्म आफ्नो घरमा बस्दा छुट्टै आनन्द आउने गरेको बताउछन् । “गर्मीमा चिसो हुँदा मझेरीमा बस्दा, सुत्दा स्वास्थ्यलाई पनि फाइदा हुन्थ्यो । अहिले त सिमेन्ट तातेर बस्न सकिन्न, जाडोमा शीत पर्ने, गर्मीमा तात्ने गर्छ”, उनले भने, “पुराना चलनका घरहरु खै अब कहाँ देखिन्छ र, हाम्रा चलनका घर, फलामका भाँडाहरु बनाउने काम पनि भूकम्पले गर्दा हराएर गए ।”
विदुर नगरपालिका–५ का रामकृष्ण भट्ट भन्छन्, “ भूकम्पले क्षति पु¥याएको हाम्रो ठाउँमा अब नयाँ अवतारका पुनःनिर्माण भएका छन् । धर्म, संस्कृति, रीतिथिति सबै नाश भयो । मौलिकता हरायो, पुरातत्व हरायो, पुराना मठमन्दिर, पाटीपौवा खै कहाँ छन् ती संरचना रु ” उनले भने सरकारले पुनःनिर्माणको बाटो अपनाइँरहदा मौलिकताको नाश नहुने नियम पनि लगाउनुपर्ने पर्ने थियो ।
हाल नवनिर्मित घरहरुमा पुराना मौलिकता आउने खालका नभएको ज्येष्ठ नागरिकसमेत बताउँछन् । पुराना पुर्ख्यौली घरको आर्कषण अझै पनि मानिसमा रहेको स्थानीयवासी बताउँछन् । नुवाकोट एक पर्यटकीयस्थल हो र यो धर्मसंस्कृतिको जर्गेना गर्ने जिल्लाका रुपमा चिनिन्छ । यहाँका साततले दरवार, भैरवी मन्दिर, जाल्पादेवी, वासुकी नागको मन्दिर, बेत्रावती धाम, दुप्चेश्वर महादेव, ककनी, वसन्ती दरबार, तादी र त्रिशूली नदीको मनमोहक सङ्गम, तलेजु, कोतघर, यहाँका आकर्षण हुन् । पुराना घरले त्यसमा सौन्दर्य थपेको थियो । भूकम्पपछि बनेका सबैका घर ढलान गरेरै बनेका छन् । पुरानो शैली लोप भएर गयो ।
राष्ट्रिय प्राधिकरण कार्यालय नुवाकोटको तथ्याङ्कअनुसार भूकम्पछि भत्किएका ७६ हजार ९४३ घरमध्ये २४ हजार घर पुनःनिर्माण हुन सकेका छैनन् भने आठ हजार घर निर्माणका लागि शुरु नै भएका छैनन् । भूकम्पबाट क्षतिग्रस्त घरमध्ये ३६ प्रतिशत निर्माण हुन बाँकी छ । अठ्चालीस हजार ४ सय घरले तेस्रो किस्ता लगिसकेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ ।
लाभग्राही सूचीमा सूचीकृत भूकम्पपिडित घरपरिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान चार अर्ब ४० करोड ८९ लाख निकासा भइसकेको छ । यसैगरी पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार १७६ छन् । त्यसका लागि नौ अर्ब ६२ करोड ६४ लाख अनुदान सरकारले भूकम्पपीडितका लागि खर्चिसकेको छ । पहिलो किस्ता अनुदान रकम लिएकामा ९४ प्रतिशत घरपरिवार छ । त्यस्तै दोस्रो किस्ता अनुदान लिएकाहरु ६६ हजार ६७४ र तेस्रो किस्ता लिने घरधुरीमध्ये ४८ हजार ४२१ रहेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया