१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे गाउँपालिकामा मगर भाषाबाट पढाई सुरू



जेठ ३२, कास्की । माछापुच्छ्रे गाउँपालिकाले वडा नं ५ रिभान मोहराको माछापुच्छ्रे आधारभूत विद्यालयमा मगर भाषा पढाई सुरू गरेको छ । त्यस वडामा मगर जातिको बाहुल्य छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन सुरु भएको घोषणा गरेका छन् ।

यस वडाको ४८ मध्ये ४६ घरधुरी मगर जाति छ । जिल्लामै पहिलो पटक मगर भाषाको पढाई सुरू भएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा हाल २७ बालबालिका अध्यनरत रहेकोमा २६ मगर जातिका रहेको विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले बताए ।

आधारभूत तहमा १०० पूर्णाङ्कको स्थानीय भाषाको पाठ्यक्रम अध्यापन गराउन सकिने प्रावधानअनुसार मगर सङ्घले प्रकाशन गरेको ‘मगराती ढुट्’ कक्षा ४ र ५ मा पढाइने र ‘मगर ढुट् पाहाक’ कक्षा ३ तथा १ र २ मा पनि सोही भाषाको विषय अध्यापन गरिने विद्यालयले जनाएको छ ।

४ जना जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मगर भाषा बोल्ने शिक्षक रहेको र तुरुन्तै अर्को पनि सोही भाषाको शिक्षक नियुक्त गरी भाषा अध्यापन गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

मातृभाषामा शिक्षा लिन पाउने बालबालिकाको संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिअनुसार मगर समुदाय बाहुल्य सोे विद्यालय छनोट गरिएको गाउँपालिकाका प्रमुख गुरुङले बताए ।

गाउँपालिका प्रमुख गुरुङले मातृभाषाको माध्यमबाट लिइने शिक्षाले सिकाइ उपलब्धि बढ्नुका साथै अरु भाषा सिक्न मद्दत पुग्ने र मातृभाषाको संरक्षण हुने बताए । उनले वडा नं २ को अर्को तामाङ बाहुल्य विद्यालयमा पनि यसै वर्षभित्रमा तामाङ भाषाको पठनपाठन सुरु गरिने जानकारी दिए । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ००:००