१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुर नगरपालिकामा जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम




जेठ २८, लम्की । कैलालीको टीकापुर नगरपालिकाले जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम शुरु गरेको छ । नगरपालिकालाई नागरिकका माग सम्बोधन गर्न सहज होस् भनी स्थानीयस्तरमै गएर गुनासा सुन्न थालेको हो ।

यो कार्यक्रममा एक लाखभन्दा मुनिका योजना कार्यान्वयनका लागि नगर प्रमुख तथा उपप्रमुखले निर्देशन दिनुका साथै आगामी आर्थिक वर्षका योजना छनोटमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

नगरपालिकाले पहिलो दिन टीकापुर नगरपालिका–२ स्थित मुक्तकमैयाको बस्ती विजयनगर र पशु हाटबजार क्षेत्रमा स्थानीयवासीसँग छलफल गरेको छ । नगरपालिकाले यी दुवै ठाउँका मन्दिरमा तारबार निर्माणका लागि एक एक लाख विनियोजन गरेको थियो । यस वर्ष नगरपालिकाले नगरका १० स्थानमा यस्ताखाले छलफल गर्ने तयारी गरेको छ । “पहिलो वर्ष थोरै रकम विनियोजन गरेका छौँ । दश स्थानमा स्थानीयवासीसँग छलफल गर्छौं ।” नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “एक लाखमा समाधान हुनसक्ने माग आए तत्काल सम्बोधन गर्छौं ।”

उनका अनुसार आगामी आर्थिक वर्षका योजना छनोटको समय पनि नजिकिएकाले यस्तो छलफलले नयां योजना छनोटमा सहयोग गर्छ । “नागरिकका माग असीमित छन्, अतिआवश्यक माग सम्बोधन गर्ने प्रयासमा छौँ ।” नगरप्रमुख रावलले भने, “जनताका बीचमा गएर जनताका वास्तविक र सामूहिक माग सम्बोधन गर्ने माध्यम यस कार्यक्रमलाई बनाएका छौँ ।”

उपप्रमुख केशरी विष्टले आउँदो वर्ष नागरिकका माग सम्बोधन गर्न बढी बजेटसहितको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । “अर्को वर्ष ठूला योजना पनि सम्बोधन गर्न सकिने गरी बजेटको व्यवस्था गर्छौं ।” उनले भनिन्, “महिला, दलित र पछाडि परेका समुदायलाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।” उपप्रमुख विष्टले योजना छनोटमा छुटेका योजना पनि यस कार्यक्रमबाट समेट्ने प्रयास नगरपालिकाले गरेको बताइन् ।

विजयनगरकी बडघर हेमा चौधरीले जनप्रतिनिधिले नागरिकका साना साना माग सम्बोधन गर्न ध्यान दिनुपर्ने बताइन् । “नागरिकलाई पानी, सहज तवरले आवतजावत गर्ने बाटो, कुलामा ह्युमपाइपजस्ता सामान्य आवश्यकता पूरा भए हुन्थ्यो जस्तो लाग्छ”, उनले भनिन्, “यस्ता सानासाना समस्या बुझ्न जनप्रतिनिधि आएर माग पूरा गरेमा निकै खुशी लाग्छ ।” विजयनगरका धेरै मुक्तकमैया ज्यालादारीमा काम गर्छन् । उनीहरु धेरै ज्यालामा ठगिने भएकाले नगरपालिकासँग ज्याला निर्धारण गरी दिन मागसमेत गरेका छन् । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार ००:००