२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परशुराम नगरपालिकाको विवाद समाधान



 

धनबहादुर भण्डारी

जेठ २७, डडेल्धुरा । डडेल्धुरा परशुराम नगरपालिकाको कार्यालय नयाँ भवनमा सार्ने विवाद टुङ्गिएको छ । नवनिर्मित भवनमा तत्काल कार्यालय सार्नुपर्ने र व्यवस्थापन पूरा गरी सार्ने भन्ने विषयमा विगत सात महीनादेखि विवाद चलेको थियो । सोही विवादका कारण पटकपटक नगर कार्यसमिति बैठकसमेत अवरोध भएको थियो ।

सदरमुकाम डडेल्धुरास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले नवनिर्मित भवनको व्यवस्थापन एवं पूर्वाधार पूर्णरुपमा निर्माण गरिएपछि कार्यालय सार्ने सहमतिपछि विवाद टुङ्गिएको नगरप्रमुख भीमबहादुर साउदले बताए ।

कार्यालय भवन निर्माण गरिए पनि शाखा सञ्चालनका लागि कोठा अपर्याप्त, खानेपानी, पार्किङ्गलगायतका पूर्वाधार पूर्णरुपमा निर्माण गरिएपछि कार्यालय सारिने उनले जानकारी दिए । नगरप्रमुख साउदले भने, “कार्यालय सार्ने विषयमा विवाद, विरोध नगर्ने सहमतिपछि सात महीनादेखिको विवाद टुङ्गिएको हो ।”

आइतबार नेकपाबाट निर्वाचित जनप्रतिनिधिले कार्यालय नसार्ने नगरप्रमुखको अडानबारे र नगरप्रमुख साउदले आवश्यक पूर्वाधार एवं पूर्णरुपमा भवनको व्यवस्थापन नभएकाले कार्यालय तत्काल नसार्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए । तर आइतबार बेलुकी सर्वपक्षीय बैठकबाट निकास निक्लेको नगरप्रमुख साउदले जानकारी गराए ।

विवाद बढ्दै गएपछि आइतबार बेलुकी जिल्ला प्रशासन कार्यालयमा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, जिल्ला समन्वय समिति संयोजक गणेशराज भट्ट, परशुराम नगरपालिका नगरप्रमुख साउद, नेकपा जिल्ला अध्यक्ष मानसिंह माल, प्रजिअ राजुराम पौडेल, नेकपा परशुराम नगर कमिटीका अध्यक्ष शेरसिंह माल लगायत नेकपाका जिल्लास्तरका अधिकांश नेता, नेपाली काँग्रेसका नेता रघुवर भट्ट, हरि भट्टलगायत राजनीतिक दलका नेता, सरोकारवालाको बीचमा बृहत् छलफल भएको थियो । त्यसपश्चात् विवाद टुङ्गिएको समन्वय समितिकिा प्रमुख भट्टले बताए ।

कानूनी मापदण्ड टेकेर सबै क्रियाकलाप अगाडि बढाउनुपर्नेमा बैठक निष्कर्षमा पुगेको प्रजिअ पौडेलले बताए । अब कार्यालय सार्ने विवादको विषयमा कुनै विवाद नगर्ने र सबै मापदण्ड पूरा गरी उपयुक्त समयमा व्यवस्थापनका साथै सूचना जारी गरी कार्यालय सार्ने सहमति भएको नगरप्रमुख साउदले बताए । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ००:००