१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४० वर्षसम्म सिँचाइ योजना अधुरै



 

हेमन्त केसी

बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै सुरू भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । त्यत्ति लामो समयसम्म पनि योजना निर्माण सम्पन्न नभए पछि खाद्यान्न अभाव झेलिरहेका बरेकोटबासीको आफैँ अन्न फलाउने सपना अधुरै छ ।

सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नु परेको छ । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो ।

तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण सुरू भएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माणकार्य सरू भएको थियो ।

नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताए ।

तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर, निर्माणकार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उनले बताए ।

उनले भने, “बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाट लगायतका २ सय हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो ।”

योजनाको छ किलोमिटर लम्बाई कुलोमध्ये ६० प्रतिशत ट्याक खोल्ने कार्य पूरा भइसकेको छ । कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ । झण्डै ४० वर्षको अवधिमा उक्त योजनामा १२ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नं ४ र ५ का बासिन्दाको खेतीयोग्य जमीन बाँझो छ । सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई वर्षेनी खाद्य अभाव हुने गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालयले पनि नायकबाडा सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७३÷७४ देखि हालसम्म रु एक करोड खर्च गरिसकेको भए पनि कामको उपलब्धि देखिएको छैन । डिभिजन कार्यालयले छ किलोमिटर लम्बाइको कुलो ५ करोड ४८ लाख रुपैयाँमा निर्माण गरी १ सय २० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ००:००