८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ काे नाम र राजधनी सर्वसम्मत हुन्छ



 

कालिका खड्का

जेठ २५, काठमाडौं । प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौं मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् ।

राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने बताए ।

“प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ”, सचिव पोखरेलले भने, “कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्र्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन ।” उनले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राखे । उनले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिए ।

सो प्रदेशले त्यहाँको विकासका लागि हेटौडा–कुलेखानी, टोखा–छहरे, नौबिसे– सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ । सो प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ । “भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहनुभएको छ”, नेता पोखरेलले भने, “यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ ।”

उक्त प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ । राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका छ । प्रदेशमा रहेको गरीब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ००:००