९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिका प्रमुखलाई नेकपा र काङ्ग्रेसको ज्ञापनपत्र




जेठ २३, भादगाउँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसले मध्यपुरथिमि नगरपालिकामा आज छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् । नेकपाले १३ बुँदे र काङ्ग्रेसले १० बुँदे विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपाले बुझाएको ज्ञापनपत्रमा नगरभित्र खानेपानीका मुहान भए तापनि नगरमै खानेपानीको समस्या रहेकाले समाधानको लागि यथाशीघ्र प्रभावकारी कार्य गर्नुपर्ने, ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदा मठमन्दिर पाटीपौवा, पोखरी, ढुङ्गेधारा पुनर्निर्माणमा २० प्रतिशत लागत उपभोक्ताले व्यहोर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, दोस्रो नगरसभाबाट पारित कर प्रणालीलाई संशोधन गरी जनमैत्री कर प्रणाली लागू गर्नुपर्ने लगायतका माग गरिएको छ ।

त्यसैगरी वडा नं ४ मा रहेको जापानी प्रविधिको फोहरबाट मल बनाउने विधि अन्य वडामा पनि विस्तार गर्नुपर्ने तथा फोहरको वैकल्पिक उपायमार्फत् उचित व्यवस्थापन गर्नुपर्ने, मनोहरा, दिव्यश्वरी र सिन्टीटार जग्गा एकीकरण आयोजना नपाले सञ्चालन गर्नुपर्ने, नगर क्षेत्रका सम्पूर्ण पर्ती तथा सार्वजनिक जग्गाको सीमाङ्कन र संरक्षण गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

नेकपाका नेताहरु बालकृष्ण पात्या श्रेष्ठ, सुचित्रा श्रेष्ठ र जनप्रतिनिधि सुन्दरलाल श्रेष्ठले हस्ताक्षर गरेको ज्ञापनपत्रमा काँडाडोल बुढाथोकी गाउँ जग्गा एकीकरण आयोजना लागू गर्नुपर्ने, घर नक्सा पास र निर्माण सम्पन्न प्रक्रिया सहज बनाउनुपर्नेसमेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल र वार्ताको माध्यमबाट दुवै दलले बुझाएको ज्ञापनपत्रको सम्बोधन गर्ने प्रतिक्रिया दिए । उनले भने, “नगरपालिकामा नेतृत्व गर्ने मेरो दल र अत्यन्त बहुमत सदस्य जितेको काङ्ग्रेस दुवैले ज्ञापनपत्र बुझाएको छ । दुवै ज्ञापनपत्रमा केही समान माग उठाएको छ । सबै अध्ययन गरेर क्रमशः पूरा गर्ने प्रयास गरिनेछ ।” रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार ००:००