१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरोधका कारण सिंचाइ आयोजनाको काम शुरु हुन सकेन



 

जेठ २३, वीरगञ्ज । स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन ।

सङ्घीय सरकारमार्फत कुवेत सरकारको १२ करोड ३७ लाख १९ हजार ४३५ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको काम हालसम्म अगाडि बढ्न नसकेको जलस्रोत तथा विकास डिभिजन कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।

दुई वर्षभित्र सम्पन्न हुने गरी २०७४ चैत २६ गते सम्झौता भएको आयोजना निर्माणको जिम्मा मकवानपुरका ठेकेदार मृत सञ्जीवनी निर्माण सेवाले पाएको थियो तर स्थानीय एकटाँगावासीको विरोधका कारण उक्त काम अगाडि बढ्न नसकेको हो ।

सन २०२० सम्म उक्त आयोजना सम्पन्न गर्नेगरी कुवेत सरकारले सङ्घीय सरकारसँग सम्झौता गरे पनि पर्सागढी नगरपालिका वडा नं ९ एकटाँगाका स्थानीयवासीले उक्त आयोजना निर्माण भएमा गाउँ नै डुबानमा पर्ने, हेडवर्कको काम नम्बरी जग्गामा बनाउन लागेको भनेर अदालतमा मुद्दा हालेपछि काम अगाडि बढ्न नसकेको कार्यालय प्रमुख बैदेही शरण दतले बताए ।

मुख्य नहरको लम्बाइ ६ किलोमिटर रहेको र सो सिँचाइ आयोजना सञ्चालनमा आएपछि पर्सागढी तथा बहुदरमाई नगरपालिकाभित्रको ७७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने भए पनि आयोजनाको काम रोकिँदा सो हुन नसकेको उनले बताए ।

एक टाँगावासीले आयोजना रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्सागढी तथा बहुदरमाई नगरपालिका, सिँचाइ विकास डिभिजन कार्यालय, उपभोक्ता समिति, स्थानीय प्रहरीलाई विपक्षी बनाई शुरुमा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि काम रोकिन गएको हो । तर जिल्ला अदालतले सो मुद्दा खारेज गरेपछि हाल उक्त मुद्दा उच्च अदालत वीरगञ्जमा विचाराधीन अवस्थामा रहेको छ ।

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सो ठाउँमा ८० वर्ष पुरानो कुलो रहेको र सङ्घीय सरकारले उक्त कुलोलाई सिँचाइ आयोजना निर्माण गर्न लागेकामा केही व्यक्तिले अदालतमा मुद्दा हालेको बताए । उनले आयोजना निर्माणको काम चाँडै अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

सङ्घीय सरकारले स्थानीय निकायमा विकासका लागि बजेट दिए पनि केही व्यक्तिले आफ्नो निजी स्वार्थका कारण आयोजना रोक्नु विकासको बाधक भएको स्थानीयवासीको टिप्पणी छ । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार ००:००