८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मापदण्डका कारण नक्सा पासमा समस्या




जेठ २१, भादगाउँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलोब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनर्निर्माण गर्न नक्सा पासमा समस्या आइरहेको बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आज भएको ‘भक्तपुरमा निजी आवास पुनर्निर्माणसम्बन्धी’ छलफलमा प्रमुख प्रजापतिले सडकको मापदण्डका कारण ठूलोब्यासी–कमलविनायक सडकमा नक्सा पासको समस्या आएको बताए ।

उनले ठूलोब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुङ्गेधाराहरु रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिलो गर्दा सम्पदाहरु नास हुने भएकाले वैकल्पिक सडक बनाउनुपर्नेमा समेत जोड दिए । उनले भने, “तत्काल ठूलो व्यासीदेखी कमलविनायक सम्मको घरका नक्सा पास हुने स्थिति छैन । सडक मापदण्डका कारण त्यहाँका प्राचीन सम्पदा नष्ट हुने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडक निर्माण गरेर सडक मापदण्ड सच्याउनु पर्छ ।”

सडक साँघुरा हुँदा यात्रुलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउँदै प्रमुख प्रजापतिले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

छलफलमा काठमाडौं उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सडक छेउका घरहरु पुरानै शैलीमा पुनर्निर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताउँदैं ठूलोब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकका लागि अध्ययन भइरहेको जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा डा श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार ००:००