२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताराखोला गाउँपालिकाले दियो रोजगारी




जेठ २१, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जनाले एकैसाथ रोजगार पाएका छन् । नेपाल सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत ९५ जनालाई रोजगारी प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरी ९५ जनालाई २२ दिनसम्मका लागि श्रममा आधारित रोजगारी प्रदान गर्ने घोषणा गरेको हो । गाउँपालिका–५ मा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । ताराखोला गाउँपालिकामा मात्र ८०० बेरोजगार रोजगारीका लागि सूचीकृत भएकामा विभिन्न आधार छनोट गर्दा २८ महिला तथा ६७ पुरुष गरी जम्मा ९५ जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरेको ताराखोला गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताए ।

जिल्लामै पहिलोपटक ताराखोला गाउँपालिकामा बेरोजगारलाई रोजगारी प्रदान गरिएको हो । रोजगारी प्रदान गरेको ९५ जनालाई सडक मर्मत सम्भारमा खटाइने तयारी भएको गाउँपालिकाले जनाएको छ । घोषणा कार्यक्रममा रोजगार प्रदान गरेका कामदारहरुलाई चार लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा पोशाक, गैची, बेल्चा, घन, बाउँसो, हँसियाजस्ता आवश्यक औजारसमेत हस्तान्तरण गरिएको थियो ।

“कामका आधारमा हुने भेदभावको अन्त्य गरौँ’ भन्ने नाराका साथ पाँचवटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ”, रोजगार संयोजक थापाले भने, “छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका हौँ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा २१ लाख बजेटले विनियोजन गरेको छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार ००:००