१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक पुगेपछि स्थानीयवासीको आयस्तरमा वृद्धि




सुशीला रेग्मी

जेठ २१, बेझाड, पाल्पा । सडकले गाउँ जोडेपछि रम्भा गाउँपालिका ४ का स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयवासीको सक्रियतामा वडा नं ४ को लोरेङ्ग गाउँमा सडक पुगेको छ । सडकको ट्र्याक यसअघि नै खोलिए पनि स्तरोन्नति गर्न नसक्दा सवारी साधन गाउँमा जान सकेका थिएनन् ।

सडक सञ्जालले पछाडि परेको यस गाउँमा हालसालै मात्र सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि अहिले साना तथा ठूला सवारी साधन जान थालेका छन् । साना सवारी साधन गुड्न मुस्किल पर्ने यस गाउँमा हिजोआज ठूलाठूला सवारी साधन गुड्न थालेपछि स्थानीयवासीमा खुशियाली छाएको हो । गाउँमा अहिले नियमित रुपमा जीप, ट्र्याक्टर, बस गुड्न थालेको देख्दा स्थानीयवासी दङ्ग छन् ।

जिल्लाकै विकट र दुर्गम क्षेत्र रहेको लोरेङ्गमा स्थानीयवासीको सक्रियतामा गाउँपालिकाको सहयोगमा सडक विस्तार गरेपछि साना तथा ठूला सवारी साधन गुड्न थालेको हो । गाउँमा सवारी साधन गुड्न थालेपछि स्थानीयवासीमा खुशी र उमङ्ग छाएको स्थानीवासी विष्णु घर्ती मगर बताउछन् । “यसअघि सदरमुकाम तानसेन, बुटवल आवतजावत गर्न गाउँदेखि करीब एक घण्टाको पैदल हिँडेर रामपुर आर्यभञ्ज्याङ सडकअन्तर्गत हुमिन बगैँचामा निस्कनु पर्थ्यो, अब यो समस्या सधैँका लागि हट्यो”, उनले भने ।

हुमिनको भिमाद लोरेङ्ग पाँडेकोट थुम्की बक्चौर सडक विस्तार तथा स्तरोन्नति गरेपछि हालै मात्र बस सेवा सञ्चालन भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रवीर सूर्यवंशीले बताए । अहिले यहाँबाट बिहान ८ बजे बुटवल, ९ बजे सदरमुकाम तानसेनका लागि र तानसेनबाट दिउँसो ४ बजे तथा बुटवलबाट ३ बजे दुई वटा बस नियमित रुपमा छुट्ने गरेको उनले बताए । “बस नियमित रुपमा सञ्चालन भएपछि सामान ओसारपसार गर्न र गन्तव्यस्थलसम्म पुग्न यात्रुलाई ठूलो सुविधा पुगेको छ”, उनले भने ।

गाउँमा सवारी साधन नपुग्दा गाउँघरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारमा लैजान निकै समस्या थियो । ज्याला दिएर मानिसले नै बोकेर सवारी साधन लाग्ने स्थानमा लैजाँदा लगानी नै नउठ्ने समस्या स्थानीयवासीले भोग्दै आएका थिए । तर सवारी साधन नियमित गुड्न थालेपछि यहाँका स्थानीयवासीको आयस्तरमा वृद्धि हुँदै गएको वडाध्यक्ष भोजबहादुर विकले बताए । सडक स्तरोन्नति गरेपछि अहिले नियमित रुपमा गाउँमा बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

सडक विस्तार तथा स्तरोन्नतिका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा २० लाख रकम सहयोग गरेको थियो । यहाँका स्थानीयवासीले करीब दुई लाख बराबरको जनश्रमदान सहयोगसमेत गरेका थिए । गाउँपालिकाका पाँच वटै वडामा बस पु¥याउने कार्यक्रमअनुसार सडक स्तरोन्नति तथा मर्मतमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

अब रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको कार्यालयमा पुग्ने सडक स्तरोन्नति भइसकेको छ तर बस केही दिनमा नै उद्घाटन गरी नियमित सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

वडा नं ५ को फुरुङ्गदी गाउँमा पनि यसै आर्थिक वर्षमा सडक स्तरोन्नति गरेपछि बस पुगेको छ । गाउँपालिकाले यसै वर्षमा सबै वडामा सडक विस्तार तथा स्तरोन्नति गरेर बस सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ । सडक समस्याकै कारण यहाँबाट बसाइँ सरेर अन्यत्र जाने क्रम पनि छ । अब सडक सुधार भई नियमित यातायातका साधन गुड्न थालेपछि बसाइँसराइ रोकिने आशा लिएको छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार ००:००