१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुनासो र सुझाव सङ्कलन गर्न पालुङटारमा हेलो मेयर सेवा




जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधैँ नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिए ।

उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिनसक्नेछन् । त्यस्तै नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा भएमा पनि कार्यक्रममार्फत नागरिकले जानकारी लिनसक्ने श्रेष्ठले बताए ।

“विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ । नगरवासीको आवश्यकता के छ भन्ने कुराको जानकारी लिन नगरवासीले अब कार्यालय नै धाउनु पर्दैन”, नगरप्रमुख दीपकबाबु कँडेलले भने । नगरपालिकाका कमी कमजोरीबारेमा समेत अब चाहेमा सिधैँ नगरप्रमुखलाई सोध्न वा खबरदारी गर्न पाइनेछ ।

यो सेवामार्फत नगरपालिकाका लागि आवश्यक रचनात्मक सुझाव दिन सकिने व्यवस्था मिलाइएको नगरप्रमुख कँडेलको भनाइ थियो । गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासाको नगरप्रमुखले बुझेर जानकारी गराउने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसबाट नगरपालिकाभित्रका समस्या तत्कालै जानकारी लिन र दिनसक्ने तथा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सिधैँ नगरप्रमुखलाई नै गराउनसक्ने व्यवस्था भएको उनको भनाइ थियो । “नगरपालिकाभित्रका समस्यालाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा जान यो सेवाले सहज हुने अपेक्षा गरेका छौ”, नगरप्रमुख कँडेलले भने । यसका लागि शुल्क तिर्नुपर्दैन । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ००:००