१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने



जेठ २०, कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका ११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।

विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको १९ करोड लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने कार्यालयका इञ्जिनीयर रामकुमार श्रेष्ठले बताए ।

सडक स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनौतीको सामना गर्दै, समस्या भोग्दै र त्यसबाट पार गर्दै सरकार अघि बढेकाले आगामी वर्षबाट बजेट कार्यान्वयनमा कठिनाइ नपर्ने बताए ।

समयमै कर्मचारी समायोजन हुन नसक्नु, प्रदेश मातहत कार्यालय स्थापनामा ढिलाइ, ऐन कानूनको अभावलगायतका कारणबाट चालू आवमा लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न कठिनाइ भएको उनको भनाइ छ ।
सरकारले आगामी वर्ष ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको बताउँदै उनले चालू वर्षकै योजना तथा कार्यक्रमलाई पूरा गर्ने गरी बजेट आउने र नयाँ योजना नल्याइने स्पष्ट पारे ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न शुरु भएको बताउँदै आगामी चार वर्षभित्रमा बाँकी काम पनि पूरा गर्ने बताए ।

कार्यक्रममा पूर्वसांसद शुक्रराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङलगायतले सो सडक समयमै निर्माण सम्पन्न गरिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ००:००