१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदै




सुशीला रेग्मी

जेठ १९, बेझाड । पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो ।

नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको गाउँमा तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँट रहका छन् । नमूना कृषि गाउँ बन्नेभएपछि त्यहाँका किसान उत्साहित बनेका छन् । स्मार्ट कृषि गाउँ कार्यक्रमले निर्वाहमुखी किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने रम्भा गाउँपालिका १ हुँगीका किसान ऋषिराम अर्यालले बताए ।

“यस कार्यक्रमले किसानलाई नयाँ प्राविधिक ज्ञान र सीपसँगै आयआर्जनमा ठूलो टेवा पुग्नेछ” उनले भने, “चारवर्षसम्म निरन्तर किसानमाझ सञ्चालन हुने भएकाले किसानले यस कार्यक्रमबाट प्रशस्त आर्थिक लाभ लिन सक्नेछन् । रामपुर नगरपालिका– १० का किसान राजेन्द्र भण्डारी गाउँमा स्मार्ट कृषि गाउँ शुरु भएपछि व्यावसायिक तरकारी उत्पादनमा आकर्षित भएको बताए ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा गरी १३ वर्ष बसेर गाउँ फर्किएका भण्डारीले सरकारले कृषिमा गरेको लगानीलाई सही सदुपयोग गर्दै उत्पादन वृद्धि गरी गाउँलाई नमूना स्मार्ट गाउँ बनाउने अभियानमा लाग्ने प्रेरणा मिलेको बताए । उनले भने, “गाउँमा जग्गा प्रशस्त छ, व्यवसाय गर्न ईच्छुकलाई अनुदानका विभिन्न कार्यक्रम आइरहने भएपछि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छैन ।”

रामपुर नगरपालिका १० को हेक्लाङफाँटमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रममा ८४ घरपरिवारका किसान आवद्ध छन् । यहाँ चार सय ९४ रोपनी क्षेत्रफलमा तरकारी र मकैखेतीमा यो कार्यक्रम शुरु गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक नोलराज भण्डारीले जानकारी दिए ।

“अबको चार वर्षभित्रमा हेक्लाङफाँटलाई कृषि पर्यटन क्षेत्रका रुपमा विकास गरी नमूना स्मार्ट कृषि गाउँ बनाउने गरी लागेका छौँ” उनले भने । गाउँलाई पूरै परिवर्तन गर्ने गरी कृषि उद्यमशीलतालाई जोड दिइएको पनि उनले बताए ।

रम्भा गाउँपालिका १ हुँगीमा तरकारी खेती र धान खेतीमा स्मार्ट कृषि गाउँ कार्यक्रम थालनी गरिएको छ । करीब ३७६ रोपनी क्षेत्रफलमा तरकारी र धानखेती गरेर गाउँमा कृषि पर्यटन भित्र्याउने योजना रहेको कार्यक्रम संयोजक केदारप्रसाद बस्यालले बताए । यहाँका करीब एक सय घरपरिवारका किसान यो कार्यक्रममा सहभागी छन् ।

त्यस्तै तिनाऊ गाउँपालिका– २ को झ्याङ्लाफाँटमा करीब २५० रोपनी क्षेत्रफलमा यो कार्यक्रम शुरु भएको छ । यहाँ १०८ घरपरिवारका किसान यो कार्यक्रममा आवद्ध छन् । धान, तरकारी, मकै लगायतका बालीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको छ ।

तानसेन नगरपालिका १४ को अर्गली क्षेत्रमा भने बाख्रापालनमा यो कार्यक्रम शुरु गर्ने तयारी भइरहेको छ । प्रदेश नं ५ का ५२ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको छ । एक किसानले वार्षिक दुई लाख आम्दानी गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट एक क्षेत्रमा पचास लाख गरी चार स्थानमा दुई करोड रकम विनियोजन गरिएको छ । नयाँ सोचका साथ ल्याइएको यो कार्यक्रम प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरको क्षेत्रमा तिनाऊ गाउँपालिका २ को झ्याङ्लाफाँट र अर्का सदस्य नारायण आचार्य क्षेत्रमा रम्भा गाउँपालिका १ हुँगी सञ्चालन भइरहेको छ ।

त्यस्तै प्रदेशसभा सदस्य युवराज खनालको रामपुर नगरपालिका १० को हेक्लाङ र डाक्टर पुरनमान बज्राचार्यको तानसेन नगरपालिका १४ को अर्गली क्षेत्रमा कृषिका लागि सम्भावना बोकेकाले कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ ।

सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत यो कार्यक्रमल सहयोग पु¥याउनेछ । छनोटमा परेका स्मार्ट कृषि गाउँमा तीन पटक खेती गरिनेछ । चालू आर्थिक वर्षको बजेटमा हरेक स्मार्ट कृषि गाउँलाई सरकारले ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ ।

पहिलो वर्ष २० प्रतिशत, दोस्रोमा ३० प्रतिशत, तेस्रो ४० प्रतिशत र चौँथो वर्षमा ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी, समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । यो कार्यक्रम ठूलो लगानीमा सञ्चालन हुने भएकाले पनि यसप्रति सबैको चासो बढेको छ । यस कार्यक्रमबाट कृषि व्यवसायमा किसानको आकर्षण बढेको पाइएको छ । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार ००:००