६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यार्सागुम्बा पाइने ९ नाकामा स्वास्थ्यकर्मी परिचालन



जेठ १८, जेठ । डोल्पाको पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न ९ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले बताए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय अभियान सञ्चालन गरेको कुलालले जानकारी दिए । अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्ली सकेकाले यार्सा सङ्कलन सुरू भएको छ । जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो ।

जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिइन् ।

फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिइन् । पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ ।

त्यस्तै सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै ५ जनाको मृत्यु भइसकेको छ ।

हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा बिरामी हुने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्बा सङ्कलनकर्ताहरु बढी बिरामी हुने गरेका छन् ।

अहिले १० हजारभन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । वृद्ध, बालबालिका र विभिन्न रोगबाट सङ्क्रमित भएका सङ्कलनकर्तालाई स्वास्थ्य समस्या आउने गरेको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार ००:००