७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी उत्खननको अवस्था बारे स्थलगत अनुगमन



जेठ १६, बर्दिवास । प्रदेश नं २ प्राकृतिक स्रोत तथा वातावरण समितिले महोत्तरी जिल्लाका नदी उत्खननको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ ।

समितिका सभापति रामचन्द्र मण्डलको नेतृत्वका टोलीले जिल्लाका रातु, भब्सी, जङ्घा, मरहा नदी र त्यस क्षेत्रमा भइरहेको उत्खननको स्थलगत अनुगमन गरेको हो ।

पूर्व–पश्चिम राजमार्गको नवनिर्मित रातुपुलबाट १०० मिटरकै दूरीमा क्रसर सञ्चालनमा भेटिएको समितिका सदस्य सञ्चमाया मोक्तानले बताइन् । “अनियन्त्रित उत्खननले नै पहिलेको पुल ढल्यो”, उनले भनिन्, “ सो नदीमा पुल बनेर भर्खरै सञ्चालनमा आएको छ, त्यसैको नजिकमा गहिरा खाल्डा बनाएर उत्खनन गरिँदो रहेछ, अब नयाँ पुलका खाँबा (पाया) पनि खङ्रिएर चाँडै ढल्ने खतरा हुनेछ ।” नदी बहाबको ठाउँभन्दा नदीउकास जग्गामा जथाभावी उत्खनन गरेको पाइएको छ ।

समितिका अर्का सदस्य डा मनोजकुमार सिंहले नदी उकास जग्गामा २५ फिटभन्दा गहिरा खाल्डा भेटिएको बताए । “लापरवाहीको हद देखियो, यहाँ प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्ने, नियन्त्रण गर्ने कुनै निकाय नै छैनन् कि भन्ने देखियो”, डा सिंहले भने, “हामी अब समितिमा छलफल गरेर यो विषय प्रदेशसभाको बैठकमा उठाउने छौँ ।”

महोत्तरीको बर्दिवास, भङ्गाहा, औरही र गौशाला नगरपालिकाका नदी किनार र नदीउकास जग्गामा अनियन्त्रित उत्खनन बढेको गुनासो बाक्लिएसँगै अनुगमन थालिएको समितिका सभापति मण्डलको भनाइ छ ।

जिल्लाका यी चार नगरपालिका भित्रका नदी किनार र नदीउकास जग्गामा ६० को हाराहारीमा क्रसर सञ्चालन हुँदै आएका छन् । यसअघि गत माघमा जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह नेतृत्वको अनुगमन टोलीले २० भन्दाबढी क्रसर अवैधरुपमा सञ्चालन भएको ठहर गरेको थियो । यद्यपि त्यस्ता क्रसरविरुद्ध कारवाही नगरिँदा नदी र नदीउकास जग्गामा हुँदै आएको अनियन्त्रित दोहन नरोकिएको भङ्गाहा–४ का सामाजिक कार्यकर्ता नारायण दाहालको भनाइ छ ।

यसपटक प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समितिले आज अनुगमन गरेपछि भने महोत्तरीको उत्तरी भेगका बासिन्दा अनियन्त्रित दोहन नियन्त्रण हुने आशमा छन् । “यसअघिका अनुगमनले खासै उपलब्धि देखाएन, यसपाली प्रदेशसभाकै समितिका पदाधिकारीले अनुगमन गर्नुभएको छ”, बर्दिवास–९ पशुपतिनगरका युवा सामाजिक कार्यकर्ता ३२ वर्षीय अमृतकुमार महतोले भने, “अब चाहिँ प्रदेश सरकारको ध्यानाकर्षण होला भन्ने आश जागेको छ ।”

टोलीमा सभापति मण्डल सँगै सदस्यहरु उपेन्द्रप्रसाद कुशवाहा, विदेश्वरप्रसाद यादव, डा मनोजकुमार सिंह, सञ्चमाया मोक्तान रहेका छन् । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार ००:००