१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समूहमार्फत मादी नदी किनारमा तरकारी खेती



जेठ १५, दमौली । तनहुँको ब्यास नगरपालिका ५ का कृषकले समूहमार्फत मादी नदी किनारमा तरकारी खेती गरेका छन् । छुट्टाछुट्टै भन्दा समूहमा खेती गर्न सहज हुने भएपछि यहाँका कृषकहरुले सामूहिक रुपमा बगर खेती शुरु गरेका हुन् ।

मादी नदीको किनारमा बाँझो रहेको जग्गाको सदुपयोग गर्दै तीन वर्षदेखि बगर खेती गरिएको कृषक एकराज अधिकारीले जानकारी दिए । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रेरणा र सहयोगले यहाँका कृषकहरुले बगरमा तरकारी खेती थालेको उनले बताए ।

उनले भने, ‘बाँझो जग्गा त्यसै फालिएर बसेको थियो । यहाँको माटो राम्रो रहेको प्राविधिकबाट थाहा पाएपछि कृषकहरुसँग सल्लाह गरेर सामूहिक रुपमा खेती शुरु ग¥यौँ ।” पहिलो वर्ष तर्बुजाबाट शुरु भएको सामूहिक खेती अहिले लहरे बालीसम्म पुगेको छ ।

बगर खेतीका लागि कृषकहरुले हरियाली कृषि समूह दर्ता गरेका छन् । उक्त समूहमा ४५ जना कृषक आबद्ध छन् । ४५ रोपनी क्षेत्रफलमा नै सामूहिक रुपमा तरकारी खेती गरिएको छ । पहिलो वर्ष तर्बुजा खेतीका लागि कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको थियो । उक्त वर्ष एक जना कृषकले तीन हजारसम्मको तर्बुजा बिक्री गरेको समूहका अध्यक्ष सुलोचना गौतमले जानकारी दिए ।

उत्पादन भएको तर्बुजा दमौली बजारमा नै बिक्री हुने गरेको छ । एउटा तर्बुजाको ५० देखि १५० सम्म बिक्री हुने गरेको कृषक बताउँछन् । दोस्रो वर्ष भने असिनाले क्षति पुगेपछि उत्पादन राम्रो नभएको कृषक अधिकारीले जानकारी दिए ।

कृषकहरुले यो वर्ष लहरे बालीका रुपमा करेला, घिरौला, तर्बुजा, लौकाको खेतीसमेत शुरु गरेका छन् । व्यावसायिक रुपमा नै तरकारी उत्पादन गर्ने कृषकको लक्ष्य छ । तरकारीमा सिँचाइ सुविधाका लागि प्लास्टिक पोखरी निर्माण गरिएको छ । प्रत्येक बारीमा पानी पु¥याउन पाइप जडान गरिएको छ ।

तरकारी खेती सामूहिक भए पनि बिक्री भने कृषकले छुट्टाछुट्टै गर्ने गरेको अधिकारीले बताए । उनले भने, “तरकारी लगाउन सामूहिक रुपमा सबै जना खटिन्छौँ, तर बिक्री भएको पैसा समूहमा भन्दा पनि व्यक्तिगत रुपमा हिसाब गर्ने गरेका छौँ ।”

ब्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बगर खेती गर्ने कृषक समूहलाई ५० हजार सहयोग गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाबाट प्राविधिक सहयोगसमेत गरिएको छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार ००:००