३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न माग



जेठ १३, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका १६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ ।

पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर दबाब सिर्जना गर्न थालिएको छ । मझगाउँ विमानस्थल सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करनसिंह पालले बन्द विमानस्थल सुचारुका लागि विभिन्न निकाय, सङ्घ संस्था, स्थानीय तह र स्थानीय प्रशासकसंग चरणवद्ध छलफल तथा अन्तरक्रिया भइरहेको जानकारी दिए ।

सङ्घर्ष समितिले मझगाउँ विमानस्थलमै आज कञ्चनपुरका सञ्चारकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखासहित यहाँका सञ्चारकर्मी पनि विमानस्थल पुनः सञ्चालनमा एक्यवद्धता जनाएको छ ।

‘आजै बेलुकी यहाँका राजनीतिक दल र तीनका भातृ सङ्गठनसित पनि छलफल कार्यक्रम तय भएको छ ।’ पालले भने, “जनप्रतिनिधिदेखि स्थानीय प्रशासनका प्रमुखसित यस विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने छौं ।”

असुरक्षाका कारण देखाउँदै २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल बन्द हुन पुगेको थियो । ‘हरेक दलहरुका चुनावी प्रतिबद्धतामा मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने विषय प्राथमिकतामा परेको भए पनि अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन’, सङ्घर्ष समितिका संयोजक रमेश चन्दले भने, “अब सामूहिक रुपमा एकताबद्ध भई पुनः सञ्चालनको अभियानमा सबैले हातेमालो गर्नु जरुरी छ ।”

उनले कञ्चनपुरवासीले झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको परेको बताए । ‘यहाँ विमानका लागि यात्रु पुग्दैनन् भन्ने पनि छैन ।’ चन्दले भने, “आवश्यक भौतिक पूर्वाधारको सदुपयोग गरेर विमानस्थल सुचारु गर्नु जुरुरी छ ।”

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । ‘यहाँबाट भारतको राजधानी नयाँ दिल्लीसम्मको अन्तर्राष्ट्रिय उडान गराउन सके सुदूरपश्चिमको पर्यटनको विकासका लागि ठूलो टेवा पुग्नसक्छ’, चन्दले भने, “यो सामाजिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्छ ।” झण्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग समेत रहेको छ । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००