१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वर्षमा पनि बनेन दुखुखोलाको पुल



जेठ १३, गलेश्वर । २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् ।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण गर्न नसकिएको हो ।

शुरुमा डिजाइन गलत भएको भनी पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता गरिएको थियो । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते दुई करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने सम्झौता भए पनि अहिलेसम्म दुईतर्फको पिल्लर ठडाएर ढलानको लागि सटिङ मात्र भएको छ । सटिङ गरेको एक महीना बिते पनि ढलान नभएको र वर्षामा खोलामा आएको बाढीले बगाउने जोखिम बढेको जनगुनासो बढेको छ ।

सम्झौताअनुसार निर्माण कार्य नभएपछि स्थानीय निकायले चासो देखाएका छन् । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, समन्वय अधिकारी ज्ञानराज कोइराला र मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको टोलीले पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणमा भएको ढिलाइको विषयमा तत्कालै पूर्वाधार विकास कार्यालयमार्फत् निर्माण कम्पनीलाई ताकेता गर्न लगाउने जिसस प्रमुख केसीले जानकारी दिएका छन् ।

पुल निर्माणमा ढिलाइ हुँदा सवारीसाधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य छन् । बेनी–दरवाङ मङ्गला, मालिका, धौलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।

स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरे पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीका प्रकाश बानियाँले गर्दै आएका छन् । पछिल्लो पटक वैशाख मसान्तसम्मका लागि थप भएको म्याद पनि ठेकेदारले काम नगरी गुजारेका छन् । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००