२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय भवन निर्माणका लागी निशुल्क जग्गा



जेठ १३, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका १ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् ।

बन्दीपुर गाउँपालिका १ निवासी कृष्णराज अधिकारी, सुनिलबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिका ११ निवासी कुलप्रसाद गुरुङ, कृष्णकुमारी गुरुङ, पोखरा महानगरपालिका ७ निवासी मोहनकुमारी कटुवाल, पोखरा महानगरपालिका १८ निवासी दुर्गादेवी थापा, पोखरा महानगरपालिका १२ निवासी हेमबहादुर थापा र पोखरा महानगरपालिका ७ निवासी वसन्त कटुवालले जग्गादान गरेको बन्दीपुर गाउँपालिका १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।

उनका अनुसार पृथ्वी राजमार्गसँगै जोडिएको रिमाल्नीको जग्गाको मूल्य प्रतिरोपनी एक करोड ४० लाख रहेको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको वडाको भवन निर्माणका लागि जग्गा खोज्ने क्रममा सर्वसाधारणले जग्गा उपलब्ध गराएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।

उक्त जग्गामा वडा कार्यालयको भवन निर्माण शुरु भइसकेको छ । जिल्ला समन्वय समिति तनहुँ र गाउँपालिकाको ८८ लाखको लागतमा भवन निर्माण शुरु गरिएको हो ।

बन्दीपुर गाउँपालिका सबै वडा कार्यालयको भवन निर्माण गर्न जुटेको छ । भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ भवन निर्माण थालिने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार वडा नं २ को भवन निर्माण हुने प्रक्रिया शुरु भइसकेको छ भने वडा नं ३ को लागिसमेत जग्गा प्राप्त भइसकेको छ । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००