१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरः अब सुन्नु पर्दैन ‘फोहरी शहर’ को कटाक्ष



नीरज गौतम

जेठ ९,नेपालगञ्ज । नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंदेखि सुन्दै आएको ‘फोहरी शहर’ को कटाक्ष सुन्नु नपर्ने भएको हो ।

“अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”, नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने ।

यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । हो, त्यही फोहर ल्याण्डफिल साइडमा पुगेपछि मोहरमा परिणत गर्ने उपमहानगरपालिकाको योजना छ । ल्याण्डफिल साइडमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डिसीले बताए ।

“तपार्इंहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर फोहरबाट मुक्त हुन्छ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भने, “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई साथ भने दिनुपर्छ ।”

एशियाली विकास बैंक, शहरी विकास आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लगानी ३९ करोडमा डेढ वर्षअघि सो ल्याण्डफिल्ड साइडको निर्माण शुरु गरिएको थियो । सम्झौताअनुसार ल्याण्डफिल साइडको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डष्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएको छ । एक वर्षपछि ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।” रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार ००:००