Logo

कृषि क्षेत्रमा सघाउन इजरायल तयारः राजदूत ओमर



जेठ ८ चिप्लेढुङगा । नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उनको भनाई थियो । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै तालीम केन्द्र नै बनेको प्रसङ्ग निकाल्दै उनले भने, “नेपालले आवश्यक ठानेमा हामी यहाँ पनि त्यस्तो तालीम केन्द्र निर्माणका लागि सहयोग गर्न तयार छौँ ।”

उनले साना किसान बैंकमार्फत हरेक वर्ष ५ सयको हाराहारीमा नेपाली कृषिबारे सिक्न इजरायल जाने गरेको बताए ।

इजरायलबाट फर्केकाहरुले कृषि क्षेत्रमा गरेको प्रगति लोभलाग्दो भएको उनको दाबी छ । नेपाली अर्थतन्त्र उकास्न कृषिमा आधुनिकीकरण महत्वपूर्ण हुने सुझाव पनि उनले दिए । राजदूत ओमरले संसारभर व्यापारको भाषा एउटै हुन्छ भन्दै पोखरा र इजरायलका व्यवसायीबीच सहकार्यको क्षेत्र खोज्न सकिने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले इजरायलको कृषि र घरेलु क्षेत्रमा काम गरेका नेपालीले त्यहाँबाट फर्केपछि गरेको उन्नतिको चर्चा गरे ।

इजरायलको थोपा सिँचाइको प्रयोग, उत्पादकत्व बढाउन प्रयोग गरिने आधुनिक प्रविधि तथा कठिन श्रमको समिश्रण अनुकरणीय भएको कोइरालाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्