७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट



जेठ ७, दमौली । लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । उनका अनुसार छनोट गरी पठाइएका योजनामा फोहरमैला सङ्कलन केन्द्र, बसपार्क निर्माण, वडा नं १ र २ जोड्ने गुबेखोलामा पक्की पुल, वडा नं ६ स्थित तीन खोलेदेवी मन्दिर जाने कुम्ले खोलाको पक्की पुल र वडा नं ८ र ९ जोड्ने सुरौदी खोलामा पक्की पुल रहेका छन् ।

यसैगरी बैठकले जेठ १२ गतेदेखि आर्थिक वर्ष २०७६÷७७ का लागि वार्षिक योजना तथा बजेट तर्जुमा शुरु गर्ने भएको छ । असार ५ गतेसम्म विभिन्न समितिको बैठक, टोल तथा वडा भेला गर्ने निर्णय भएको छ । असार ९ गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र २३ गते नगरसभा हुनेछ । बैठकले यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

‘नगरवासीसँग नगर प्रमुख’

नगरवासीका गुनासो, विकास निर्माणमा भएका ढिलासुस्ती र नगरवासीको सुझाव सङ्कलन गर्ने उद्देश्यले नगरपालिकाले शुरु गरेको ‘नगरवासीसँग नगर प्रमुख’ संवाद कार्यक्रमको दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा व्यास नगरपालिका–४ स्थित हरिओम टोल विकास संस्थाका अध्यक्ष हरिशचन्द्र वाग्लेले वडामा सम्पन्न हुने योजनाको गुणस्तरबारे नगरपालिकाले बेला–बेलामा अनुगमन गर्नुपर्ने बताए । नगरपालिका–४ कै हरिशचन्द्र कार्कीले आफ्नो टोलमा सडक अत्यधिक धुलो हुने गरेकाले कालोपत्र गर्न नगरपालिकासँग अनुरोध गरे । सो अवसरमा कार्यवाहक नगरप्रमुख मीरा जोशीले नगरवासीका हरेक गुनासो समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगरका सबै वडामा समय मिलाएर योजनाको अनुगमन भइरहेको जानकारी दिइन् ।

६३ वर्षमा नागरिकता

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा वर्षौदेखि बसोबास गर्दै आउनुभएका ६३ वर्षीय प्रेमबहादुर गुरुङको कच्ची घर विसं २०७२ को भूकम्पले भत्कियो । भूकम्पले घर भत्काएसँगै पूर्ण क्षतिको सूचीमा उनको नाम समावेश भयो । घर पुनःनिर्माणका लागि सम्झौता गर्ने बेलामा उनलाई आपत आइलाग्यो । कारण उनीसँग नागरिकता थिएन । नागरिकता नबनेका कारण उनले भूकम्पबाट क्षति भएको घर पुनःनिर्माणका लागि सम्झौता गर्न पाएनन् । नागरिकता नबनेकै कारण घर पुनःनिर्माण नहुने हो कि भन्ने चिन्ता अब प्रेमबहादुरलाई टरेको छ ।

नगरपालिका–१२ को क्रियाशीलतामा उनले आइतबार मात्रै नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएपछि खुशी हुँदै उनले भने, “बल्ल नागरिकता पाएँ, अब घर बन्ने आशा जागेको छ ।”

कास्की जिल्लाको साविक भरतपोखरी गाविसबाट वर्षौँ पहिला उनको परिवार फिरफिरे बसाइँसराइ आएको थियो । उनी सानै हुँदा बाबुआमाको मृत्यु भयो । जब उनी हुर्कंदै गए, उनको घरवार पनि त्यतै भयो । सार्वजनिक जग्गामा टहरो बनाएर बसोबास गर्दै आएका उनको हालसम्म पनि नागरिकता नभएको थाहा पाएपछि वडाध्यक्ष मनराज गुरुङको प्रयासमा उनले नागरिकता बनाएका हुन् ।

वडाध्यक्ष गुरुङका अनुसार कास्कीको साविक भरतपोखरी गाविस ९हाल पोखरा महानगरपालिका वडा नं ३०० बाट सर्जिमन, मुचुल्का र इलाका प्रहरी कार्यालय बेलचौताराबाट फिरफिरेमा वर्षौँदेखि बसेको प्रमाणित गराएपछि गुरुङले नागरिकता प्राप्त गरेका छन् । वडाध्यक्ष गुरुङले भने, “झन्झटिलो नेपालको कानून र किचलो कर्मचारीको प्रवृत्तिलाई पार गर्दै नागरिकताविहीन असहायलाई लामो समयको प्रयासपछि नागरिकता दिलाउन पाउँदा खुशी लागेको छ ।” गरीब, असहाय र अशिक्षित नागरिक राष्ट्रको पहुँचसम्म पुग्न नसक्ने रहेछ भन्ने नमिठो अनुभूतिसमेत आफूले यसक्रममा व्योहोरेको उनको अनुभव छ ।

यसैगरी प्रेमबहादुरको दाजु ६७ वर्षीय नरबहादुर गुरुङको कास्कीबाट नागरिकता जारी भएको र उनलाई समेत तनहुँबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । दाजुभाइको नै नागरिकता बनेपछि भूकम्पबाट भत्किएको घर पुनःनिर्माणका लागि प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष गुरुङले जानकारी दिए । गुरुङ दाजुभाइले अर्काको खेती किसान र माछा मारेर जीवन निर्वाह गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार ००:००