३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्योपचार सेवा



धु्रवसागर शर्मा

जेठ ६, गलेश्वर । घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

आयुर्वेद शाखाका प्रमुख कविराज लक्ष्मण शर्मा चालिसेसहितको टोलीले गाउँपालिकाका वडा नं ५ झीँ, वडा नं ६ पाखापानी, ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेका १५० भन्दाबढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको टोलीका स्वास्थ्य संयोजक चालिसेले जानकारी दिए । गाउँपालिकाका सबै वडामा यो सुविधा प्रदान गरिने अध्यक्ष भण्डारीले बताए ।

वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

४३ क्षयरोगी भेटिए

म्याग्दीमा यो वर्ष ४३ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा चालू आर्थिक वर्षको वैशाखसम्ममा जिल्लामा ४३ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताए । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, उनले भने । प्रमुख आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै उनले जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताए । उनले फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिए पनि फोक्सो र घाँटीको क्षयरोगीको सङ्ख्या बढ्न थालेपछि अभियानलाई तीव्रता दिनुपर्ने अवस्था आएको बताए ।

नियमित औषधि र पौष्टिक आहार सेवन गरेमा क्षयरोग निको हुने दाबी उनको छ । सामान्य क्षयरोगीले छ महीना औषधि खाए निको हुने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परीक्षण केन्द्र रहेको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ००:००